कैलालीमा मानव–वन्यजन्तु द्वन्द्व रोक्न ‘मेस वायर’ लगाइयो

मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25
Paschim Today

इन्दु केसी
घोडाघोडी ९कैलाली०, १७ असारः कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ लगाइएको छ । जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको हो । 

    वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत  जानकी गाउँपालिका–६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार मिटर र टीकापुर नगरपालिका–२ स्थित रानी कर्णाली सामुदायिक वनमा एक हजार १०० मिटर लामो तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । 

    उहाँका अनुसार सामुदायिक वन र मानव बस्तीको सिमानामा पिसिसी ९सिमेन्ट, कङ्क्रिट० को जगसहितको बलियो मेसवायर तारबार निर्माण गरिएको छ । यस कार्यले वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने र स्थानीय बासिन्दाको बालीनाली, घरपालुवा पशु तथा मानवीय क्षतिसमेत न्यूनीकरण हुने विश्वास लिइएको छ ।

    कँडेल भन्नुहुन्छ, “टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका कर्णाली जैविक मार्गका महत्वपूर्ण हिस्सा हुन्, जुन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।” 

    उहाँका अनुसार निकुञ्जबाट पाटेबाघ, हात्ती, चितुवालगायतका ठूला र संरक्षित वन्यजन्तु आहारा र बासस्थानको खोजीमा यता आउने क्रम निरन्तर चलिरहन्छ । उहाँले भन्नुभयो, “त्यसैले यो क्षेत्र द्वन्द्वको उच्च जोखिममा छ, यो तारबारले ठूला जनावरलाई मात्र नभई चित्तल, बँदेल, नीलगाईजस्ता साना जनावरले किसानको बालीनालीमा पु¥याउने क्षतिलाई पनि रोक्न प्रभावकारी हुनेछ ।”

    लामो समयदेखि यस क्षेत्रका बासिन्दा जङ्गली जनावरको मानव बस्तीमा प्रवेशका कारण पीडित थिए । कर्णाली जैविक मार्ग बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यो क्षेत्र बाघ, चितुवा, हात्ती, बँदेल, नीलगाई, चित्तलजस्ता वन्यजन्तुको प्रमुख ओहोरदोहोर गर्ने बाटो हो । यी जनावर मध्यरातमा बस्ती पसेर किसानले दुःख गरेर लगाएको धान, गहुँ, मकैजस्ता बालीनाली सखाप पार्ने, गोठमा बाँधिएका बाख्रा, बङ्गुर तथा अन्य घरपालुवा पशुपन्छी मारेर खाने गर्थे । कहिलेकाहीँ मानिसमाथि नै आक्रमणका घटना भएका थिए, जसले गर्दा स्थानीय त्रासमा बाँच्न बाध्य थिए ।

    तारबार निर्माणपछि भने स्थानीयमा ठूलो राहत मिलेको कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष टेकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हामी रातभर जाग्राम बसेर बाली कुर्न बाध्य थियौँ, जङ्गली जनावरले कतिबेला आएर क्षति पु¥याउने हो भन्ने डर सधैँ रहन्थ्यो, अब यो बलियो तारबारले वन्यजन्तुलाई वन क्षेत्रमै सीमित राख्न मद्दत गर्नेछ । “यसले हाम्रो बालीनाली र पशुधनको सुरक्षा मात्र होइन, मानव–वन्यजन्तुबीचको अप्रिय घटनालाई पनि न्यूनीकरण गर्नेछ,” उहाँले भन्नुभयो । 

    सबडिभिजन वन कार्यालय, टीकापुरका वरिष्ठ वन अधिकृत दिलीप यादवले यो तारबार मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्ने दिशामा एक महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँका अनुसार विगतमा वन र बस्तीबीच कुनै भौतिक अवरोध नहुँदा वन्यजन्तु तथा मानिसको जम्काभेट हुने सम्भावना उच्च थियो, जसले द्वन्द्व निम्त्याउँथ्यो । पिसिसीसहितको मेसवायर फेन्सिङले दुवै पक्षलाई आ–आफ्नो क्षेत्रमा सुरक्षित राख्छ । यसले एकातिर वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानमा निर्धक्क घुमफिर गर्न पाउँछन् भने अर्कोतिर स्थानीय समुदायको जीविकोपार्जन सुरक्षित हुन्छ । 

    एकीकृत भू–परिधि व्यवस्थापन आयोजना कार्यान्वयन एकाइमा फिल्ड व्यवस्थापक प्रकाश थापाले आयोजनाको मूल उद्देश्य नै महत्वपूर्ण जैविक मार्गको संरक्षण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताउनुभयो । “हामीले कैलाली र बर्दियालाई जोड्ने कर्णाली जैविक मार्गलाई एउटा सिङ्गो भू–परिधिका रूपमा हेरेका छौँ,” थापाले भन्नुभयो, “यो केवल तारबार निर्माणमा मात्र सीमित छैन खण्डित भएका वन क्षेत्रलाई जोड्न वृक्षरोपण र प्राकृतिक पुनः उत्पादनलाई सहयोग गर्ने ९जैविक मार्ग पुनः स्थापना० पनि गरेका छौँ ।”

    थापाका अनुसार परियोजनाले स्थानीय समुदायलाई वनमाथिको निर्भरता घटाउन व्यवस्थित पशुगोठ निर्माण, बेमौसमी तरकारीखेती र गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमजस्ता वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरेको छ । “सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, वन्यजन्तु उद्धारसम्बन्धी तालिम र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना फैलाउनेजस्ता क्रियाकलाप पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भन्नुभयो । 
–––