एमाले सुदूरपश्चिम कमिटीमा १८ जना मनोनित, १३ बुँदे समसामयिक प्रस्ताव पारित

धनगढी, असार २२
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले १८ जना नेताहरूलाई प्रदेश कमिटीमा मनोनयन गर्नुका साथै १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ।
असार १९ गते सचिवालय बैठक तथा असार २० र २१ गते पूर्ण बैठक धनगढीमा प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता र पार्टी केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकपछि आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी उपसचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टले बैठकका निर्णयहरू सार्वजनिक गरेकी हुन्। उनले १८ जना नयाँ सदस्यलाई प्रदेश कमिटीमा मनोनीत गरिएको जानकारी दिँदै समसामयिक १३ बुँदे प्रस्ताव पनि पारित भएको जानकारी दिइन्।
प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल, दमन भण्डारी, निवर्तमान सांसद तथा पूर्वराज्यमन्त्री कुलवीर चौधरी र अर्चना गहतराज, भीमदत्त नगरपालिकाका पूर्वमेयर तथा कञ्चनपुर जिल्ला कमिटीका पूर्वअध्यक्ष सुरेन्द्र बिष्ट, गायिका लक्ष्मी आचार्यलगायत विभिन्न व्यक्तिहरू प्रदेश कमिटीमा मनोनित भएका छन्।
बैठकमा वडास्तरीय तीन महिनाको अभियानको समीक्षा, संगठनको वर्तमान अवस्था, प्रदेश सरकारको कार्यसम्पादन मूल्यांकन तथा आगामी कार्ययोजना विषयमा गहन छलफल भएको थियो।
अध्यक्ष जैशीले राजनीतिक प्रतिवेदन, सचिव रणबहादुर चन्दले आगामी वार्षिक कार्ययोजना तथा उपसचिव नरबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदनसहित आगामी आर्थिक वर्ष २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए। बैठकले प्रदेश कमिटी, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागमा आवश्यक मनोनयन गरी सिफारिस केन्द्रमा पठाउने निर्णय पनि गरेको छ।
१३ बुँदे प्रस्तावका मुख्य बिषयवस्तुहरू
प्रदेश र मुलुकको समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै पारित १३ बुँदे प्रस्तावमा निम्न विषयहरू समेटिएका छन्–
-
प्राकृतिक प्रकोप व्यवस्थापन : मौसम पूर्वानुमानअनुसार अत्यधिक वर्षा हुने भएकाले बाढी, पहिरो तथा नदी कटान प्रभावित क्षेत्रमा जनधनको सुरक्षा गर्न तीनै तहका सरकारलाई आग्रह।
-
कृषि उत्पादन : वर्षे बाली लगाउने महत्वपूर्ण समयमा किसानलाई समयमै मलखाद र औषधिको सुनिश्चित आपूर्ति गर्न सरकारलाई तत्काल पहल गर्न सुझाव।
-
सीमा सुरक्षासम्बन्धी मुद्दा : भारतसँग सीमा जोडिएका क्षेत्रमा जनताको आवतजावत सहज बनाउने, दुव्र्यवहार अन्त्य गर्न तथा सीमा अतिक्रमण समाधान गर्न कूटनीतिक पहल गर्न आह्वान।
-
भूकम्प तथा प्राकृतिक विपत्तिपछि पुनर्निर्माण : पीडित जिल्लाहरूमा राहत र पुनर्निर्माण प्याकेज तत्काल कार्यान्वयन गर्न माग।
-
स्वास्थ्य सुरक्षा : डेङ्गु, कोरोना, हैजा जस्ता रोगको सम्भावित संक्रमण रोक्न औषधि आपूर्ति र जनचेतना कार्यक्रम प्रभावकारी बनाउने।
-
सडक तथा पूर्वाधार विकास : भीमदत्त राजमार्ग, सेती लोकमार्ग, खुटिया–दिपायल द्रुतमार्गजस्ता महत्वपूर्ण सडकको स्तरोन्नति र निर्माणलाई गति दिन आवश्यक बजेट सुनिश्चित गर्न सरकारलाई आग्रह।
-
शिक्षा र स्वास्थ्य क्षेत्र : शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति तत्काल व्यवस्थापन गर्न आग्रह।
-
शासन सुधार : भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गरी जनतामुखी, पारदर्शी तथा प्रभावकारी सेवा प्रवाहको माग।
-
पेट्रोलियम अनुसन्धान : दैलेखमा भएको पेट्रोलियम उत्खनन अनुसन्धानलाई शीघ्र कार्यान्वयनमा ल्याई प्रदेशको समृद्धिमा रूपान्तरण गर्न नेपाल सरकारलाई विशेष आग्रह।
तपाईको प्रतिक्रिया