धनगढीमा बृहत यौनिकता शिक्षा सम्बन्धी प्रदेश सरकारसँग नीति संवाद कार्यक्रम सम्पन्न

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

कैलाली । धनगढीमा बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी प्रदेश सरकारसँग नीति संवाद र छलफल कार्यक्रम सम्पन्न भएको छ। विकासका लागि युवा एक्यबद्धता (यार्ड) कैलालीको आयोजनामा आज कार्यक्रम सम्पन्न भएको हो। 

सुदूरपश्चिममा यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षाको वर्तमान अवस्था र चुनौती बारे कार्यक्रममा छलफल भएको थियो । विभिन्न सरकारी, गैरसरकारी संस्थाबाट उपस्थित प्रतिनिधिहरूले सीएससी र एसआरएचआरका क्षेत्रमा अझै कसरी प्रभावकारी रूपमा कसरी काम गर्न सकिन्छ भन्ने सुझाव दिएका थिए। 

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले यार्ड र सामाजिक विकास मन्त्रालयले समुदाय स्तरमा गर्ने केही कामहरू मिल्ने भएकाले त्यसमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । साथै यार्डले गरिरहेका गतिविधिहरूप्रति मन्त्रालय सदैव सकारात्मक रहेको बताउँदै यस्ता कार्यलाई निरन्तरता दिन र थप प्रभावकारी ढंगले काम गर्न सुझाव समेत दिए। 

यस्तै मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले संघसंस्थाहरूले आफूलाई पाएक पर्ने ठाउँ छनोट गरेर काम गर्ने गरेको बताउँदै दुर्गम भेगहरूलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा यार्डमा आबद्ध युथ च्याम्पियनहरूले समुदाय र विद्यालय स्तरमा गरेका कामहरूको अनुभव सुनाएका थिए। उनीहरूको अनुभव अनुसार बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे पहिलेभन्दा केही मात्रामा परिवर्तन आएको छ। उपस्थित अन्य प्रतिनिधिहरूले पनि यो विषयमा विद्यार्थी र शिक्षकलाई मात्र तालिम नदिएर अभिभावकहरूलाई पनि तालिमहरू दिनुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठ, परिवार नियोजन कैलालीका प्रमुख चेतराज फुलारा, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मी, मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महरा, सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरी। धनगढी उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।