कैलालीका विभिन्न पालिकामा भोलि स्थानीय बिदा

बिहीबार श्रावण २, २०८२/ Thursday 07-17-25
Paschim Today

धनगढी। कैलालीका विभिन्न पालिकाले भोलि (शुक्रबार) पालिकामा स्थानीय बिदा दिएका छन्। 

साउन २ गते परेको मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिने निर्णय गरेका हुन। 

दिवसको अवसरमा पालिकाको कार्यालय, वडा कार्याल, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थामा बिदा रहने सार्वजनिक सूचना जारी गरेर पालिकाहरुले जानकारी दिएका छन्। 

बँधुवा मजदुरको रुपमा काम गर्दै आएका कमैयालाई २०५७ साउन २ गते तत्कालीन सरकारले मुक्त भएको घोषणा गरेको थियो। त्यसको खुशियालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन्। 

भोलि कमैया मुक्तिको २५ वर्ष पुग्दैछ। कमैयाहरु मुक्त भएको २५ वर्ष पुगे पनि उनीहरुको गाँस, बास, कपास र रोजगारीको समस्या अझै समाधान हुन सकेको छैन। पुनःस्थापनाको कार्य विस्तारै भइरहेको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जानकारी दिए।