नाउपामा आज नयाँ समिति ताेकिँदै, रञ्जिता भन्छिन्- अवैध भेलाकाे निर्णय अमान्य

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आज नयाँ कार्यसमिति चयन गर्ने भएको छ । हिजोदेखि काठमाडौँमा राष्ट्रिय भेला जारी छ । बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको भेलामा रन्जिता पक्षका केन्द्रीय सदस्य तथा सांसद उपस्थित छैनन् ।
हिजो अध्यक्ष रन्जितालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भेलाले आज नयाँ कार्यसमिति चयन गर्ने छ ।
टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित नछुट्ने गरी भेलाबाट कार्यसमिति चयनको तयारी गरिएको हो ।
अहिलेसम्म अध्यक्षमा निर्वाचन एवं अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा, प्रतिनिधि सभा सदस्य लालवीर चौधरी र गङ्गा चौधरीको चर्चा छ ।
लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् भने रामलाल टीकापुर नगरपालिकाका मेयर हुन् । उनकै अध्यक्षतामा अहिले राष्ट्रिय भेला भइरहेको छ । अर्का आकाङ्क्षी गङ्गा चौधरी टिकापुरको महाधिवेशनबाट महासचिव बनेका थिए । तर, त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । उनी अहिले नाउपा संसदीय दलको नेता पनि हुन् ।
अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष ७ प्रदेशका संयोजक रहनेगरी ७ उपाध्यक्ष १ महासचिव र ७ सह महासचिव तोक्ने तयारी छ । नयाँ कार्यसमिति तयार गर्ने रणनीतिमा रहेका रेशम चौधरी निर्वाचन आयोगको परामर्शमा छन् ।
यता बहुमत सदस्यहरूको भेलाबाट अध्यक्षबाट हटाइएकी रन्जिता श्रेष्ठले पछिल्लो गतिविधिले पार्टी अझै कमजोर बनेको टिप्पणी गरेकी छन् ।
विधि विपरीत केन्द्रीय समितिको बैठक बोलाइएको, त्यस्तै गरी राष्ट्रिय भेला बसिरहेको भन्दै उनले यस्ता गतिविधिले नाउपामा अझै समस्या निम्त्याएको बताइन् । राष्ट्रिय भेला नै अवैधानिक भएको भन्दै आफूमाथि गरिएको कारबाहीको कुनै औचित्य नभएको उनको भनाइ थियो ।
‘राष्ट्रिय भेला बोलाउने अधिकार हाम्रो पार्टीको विधानअनुसार अध्यक्ष अर्थात् अध्यक्ष पदमा रहेको व्यक्तिलाई मात्र हुन्छ । मैले कुनै राष्ट्रिय भेला आह्वान गरेको छैन,’ उनले भनिन्, ‘त्यसैले त्यो भेला नै वैधानिक छैन । अवैधानिक भेलाले गरेको निर्णय वैधानिक हुने कुरै भएन ।’
राष्ट्रिय भेला बोलाएर पार्टीभित्र थप किचलो निम्त्याउन खोजेको उनको आरोप छ । आफूले नबोलाएको भेला अवैधानिक भएको भन्दै त्यो भेलाले गरेको बसै निर्णयहरू निर्वाचन आयोगले मान्यता नदिने उनको भनाइ थियो ।
नाउपाको विधानले बैठक बोलाउने अधिकार हरेक कमिटीको अध्यक्षलाई दिएको छ । अध्यक्षको निर्देशनमा महासचिवले वा सचिवले बैठक बोलाउने व्यवस्था छ ।
शनिवार बसेको संसदीय दलको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई बैठक बोलाउन माग गरे ,अध्यक्षले बैठक नबोलाएपछि स्पष्टीकरण सोधियो । त्यसको जवाफ पनि नदिएपछि राष्ट्रिय भेला बोलाएर उनलाई बर्खास्त गरियो ।
‘संसदीय दलको बैठकले पार्टीको बैठक बोलाउनै मिल्दैन । पार्टी भित्र समस्या त्यहीबाट सुरु भएको हो’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘महासचिव भन्दै माननीय गङ्गा चौधरीले पत्र काट्नु भएको छ ।निर्वाचन आयोगले उहाँलाई महासचिवको रूपमा चिन्दैन ।’
निर्वाचन आयोगमा रहेको तथ्याङ्क अनुसार नाउपामा २१ सदस्यीय केन्द्रीय समिति छ । उक्त विवरणले महासचिवका रूपमा गङ्गा चौधरीलाई चिन्दैन । उनलाई पहिलो केन्द्रीय महाधिवेशनले महासचिवको रूपमा निर्वाचित गराएको थियो । जुन निर्वाचन आयोगले मान्यता दिएन ।
कानुनी रूपमा महासचिव नै नरहेको व्यक्तिले महासचिव भन्दै पत्र काटेर पार्टीको लेटर प्याडको पनि दुरुपयोग गरेको उनको आरोप छ ।
साउन ११ गते श्रेष्ठले कास्कीका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएपछि नाउपाभित्र थप विवाद चर्किएको थियो । अध्यक्षले विधि विपरीत कार्यवाहक तोकेको भन्दै निर्वाचन एवं अनुशासन आयोगले उनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाहीको सिफारिस गर्दा उनले अध्यक्ष श्रेष्ठले आफूले आफ्नो अधिकार प्रयोग गरेर विधानअनुसारै कार्यवाहक तोकेको बताइन् ।
‘संरक्षक रेशम चौधरी ज्यूले कि राजीनामा दिन ,कि कार्यवाहक तोक्न सुझाव दिनुभएको थियो । त्यही सुझावलाई मानेर मैले कार्यवाहक तोके’ उनले भनिन्, ‘मैले एक वर्ष पहिल्यै वरिष्ठ नेतामा मनोनीत गरेको नेतालाई नै कार्यवाहक दिए । यो पनि विधानमा छ ।’
उनले एक वर्ष पहिले वरिष्ठ नेता मनोनीत गर्दा विवाद नगर्ने अहिले विवाद गर्नुको कुनै औचित्य नभएको बताइन् ।
श्रेष्ठले पार्टीमा देखिएका असहमतिलाई संवाद, प्रक्रिया र विधिबाट समाधान गर्नुपर्नेमा जोड दिएकी छिन् । ‘म अहिले पनि संवाद र समाधानको पक्षमा छु,’ उनले भनिन् ।
तपाईको प्रतिक्रिया