एआई२०२७ : के यसरी एआईले मानवतालाई नष्ट गरिदिन सक्छ?

शनिबार श्रावण १८, २०८२/ Saturday 08-02-25
Paschim Today

काठमाडौं । सन् २०२७ मा आर्टिफिसल इन्टेलिजन्स (एआई) अनियन्त्रित हुने र एक दशकभित्रै मानवता नष्ट हुने कारण बन्न सक्ने भनी एउटा शोधपत्रले गरेको प्रक्षेपणले प्रविधि जगतमा हलचल मच्चाएको छ।

एआई२०२७ भनिने विस्तृत परिदृष्यसहितको उक्त शोधपत्र प्रभावशाली एआई विज्ञहरूको समूहले प्रकाशित गरेको हो र त्यसयता त्यसको सम्भावनाबारे मानिसहरूबीच बहस हुनुका साथै त्यससम्बन्धी कैयौँ भिडिओ भाइरल भएका छन्। बीबीसीले उक्त परिदृष्यको उपयोग गर्दै चल्तीका 'जेनेरेटिभ एआई टुलहरू' प्रयोग गरेर सम्भावित परिदृश्यहरूको पुन:सिर्जना गरेको छ र विशेषज्ञहरूसँग उक्त शोधपत्रमा उल्लेखित कुराहरूको प्रभावबारे कुरा गरेको छ।

उक्त परिदृश्यमा के हुन्छ?

उक्त शोधपत्रमा सन् २०२७ मा ओपनब्रेन भनिने एउटा काल्पनिक अमेरिकी प्राविधिक कम्पनीले एजीआई (आर्टिफिसल जेनरल इन्टेलिजन्स) सम्म पुग्ने एआई बनाउने अनुमान गरिएको छ। त्यो भनेको एआई क्षेत्रको त्यस्तो बहुचर्चित कोशेढुङ्गा हो जहाँ एआईले सबै किसिमका बौद्धिक कार्य मानिससमान वा मानिसले भन्दा पनि राम्रोसँग गर्न सक्छ। त्यसपछि उक्त कम्पनीले सार्वजनिक प्रेस सम्मेलन गरेर आफ्नो उपलब्धिको उत्सव मनाउँछ र मानिसहरूले उक्त एआईलाई अपनाउन थालेसँगै कम्पनीको नाफा आकासिन थाल्छ।

काल्पनिक ओपनब्रेन कम्पनीको मुख्यालय (भीईओ एआईद्वारा बनाइएको तस्बिर)

प्रोग्राम गरिएअनुरूपमा नैतिक मूल्यहरूतर्फ उक्त एआईको रुचि घटेको सङ्केत सो कम्पनीको आन्तरिक सुरक्षा समूहले प्राप्त गर्ने तर उक्त समूहद्वारा दिइने चेतावनीलाई कम्पनीले सुनेको नसुन्यै गर्ने उक्त शोधपत्रमा परिकल्पना गरिएको छ।

काल्पनिक समयरेखामा डीपसेन्ट भनिने चीनको अग्रणी एआई समूह ओपनब्रेनको तुलनामा केही महिनामात्रै पछाडि रहने छ। अमेरिकी सरकार उन्नत एआईको विकास गर्नेतर्फको होडमा पछाडि पर्न नचाहने भएकाले विकास र लगानी जारी हुने र होड झनै तीव्र हुँदै जाने परिकल्पना गरिएको छ।एकजना काल्पनिक एआई इन्जिनियर

तस्बिरको क्याप्शन,ओपनब्रेन सुरक्षा समूहकी इन्जिनिअर (भीईओ एआईद्वारा बनाइएको तस्बिर)

उक्त परिदृश्यमा सन् २०२७ को अन्त्यतिरको एउटा विन्दुमा उक्त एआई 'सुपरइन्टलिजेन्ट' वा सबैभन्दा बुद्धिमत्तापूर्ण अवस्थामा पुग्ने मात्र नभई त्यसका रचनाकर्ताका तुलनामा ज्ञान र गतिका हिसाबले निकै अघि पुग्ने कल्पना गरिएको छ। त्यस्तै त्यसले सिक्न कहिल्यै नछाड्ने र आफूभन्दा अघिल्ला एआईहरूले समेत बुझ्न नसक्ने किसिमको तीव्र कम्प्यूटर भाषाको सिर्जना गर्ने कल्पना गरिएको छ।

एआई वर्चस्वका निम्ति र चीनसँग जारी प्रतिद्वन्द्वले उक्त कम्पनी र अमेरिकी सरकार 'मिस-अलाइनमेन्ट' का थप चेतावनीहरूलाई नजरअन्दाज गर्न प्रेरित हुने अनुमान गरिएको छ। कुनै मेसिनको प्राथमिकता मानवको प्राथमिकता अनुरूप नभएको अवस्थालाई व्याख्या गर्न उक्त 'मिस-अलाइनमेन्ट' शब्दावलीको प्रयोग गरिन्छ।

दुवै देशका एआई प्रतिद्वन्द्वीहरूले डरलाग्दा स्वायत्त हतियारहरू बनाउने हुँदा सन् २०२९ सम्ममा अमेरिका र चीनबीचको तनाव सम्भावित युद्धको हदमसम्म पुग्ने उक्त परिदृश्यले आकलन गरेको छ।

 

तर अनुसन्धानकर्ताहरूले दुवै देशले एआईहरूद्वारा गरिएका सम्झौताका माध्यमले शान्ति स्थापना गर्ने कल्पना गरेका छन् जसमा एआईहरूले मानव कल्याणका निम्ति एकापसमा गाभिने निर्णय लिएका हुन्छन्।

कैयौँ वर्षसम्म संसारले अति बुद्धिमत्तापूर्ण एआईका वास्तविक फाइदाहरू देख्न पाउने छ। तिनले ठूलो सङ्ख्यामा रोबोटहरूलाई काममा लगाउने छन्। उक्त परिदृश्यका अनुसार धेरैजसो रोगका उपचारहरू खोजिएको हुनेछ, जलवायु परिवर्तनको समस्या हल भएको हुनेछ र गरिबी उन्मुलन भएको हुनेछ।एआईले चलाएको अस्पताल

तस्बिरको क्याप्शन,एआई२०२७ अनुरूप सन् २०३५ को एआई कल्पनालोक (भीईओ एआईद्वारा बनाइएको तस्बिर)

तर अन्तत: सन् २०३० को दशकको मध्यतिर कुनै विन्दुमा पुगेर एआईको विकासको महत्त्वाकांक्षामा मानव जाति अनावश्यक अवरोध बनेको ठानिने छ। शोधकर्ताहरूका विचारमा त्यसपछि एआईले अदृश्य जैविक हतियारहरूको प्रयोग गरेर मानिसहरूलाई मार्नेछ।

मानिसहरू एआई२०२७ बारे के भनिरहेका छन्?

केही मानिसहरूले विज्ञान-कथा भनेर एआई२०२७ लाई खारेज गरे पनि उक्त शोधपत्रका लेखकहरू निकै प्रतिष्ठित छन् र एआईको प्रभावबारे पूर्वानुमान गर्न बनाइएको गैरनाफामुलक 'एआई फ्यूचर प्रोजेक्ट'का हिस्सा हुन्।

उक्त शोधपत्रका प्रमुख लेखक ड्यानिअल कोक्तजेलोले यसअघि एआईको विकासबारे सही पूर्वानुमान गरेको श्रेय पाएका छन्।

एआई२०२७ का प्रमुख आलोचकमध्येका अमेरिकाका संज्ञानात्मक वैज्ञानिक तथा लेखक गेरी मार्कस उक्त परिदृश्य असम्भव नभए पनि छिट्टै त्यसो हुने सम्भावना निकै न्यून हुने बताउँछन्।

"उक्त दस्तावेजको राम्रो पक्ष भनेको के हो भने यसले परिदृश्यलाई जीवन्त तवरले प्रस्तुत गरेको छ। त्यसले मानिसहरूलाई उत्तेजित बनाएको छ र त्यो राम्रै पनि हो तर म त्यसलाई सम्भावित परिणामका रूपमा गम्भीरताका साथ लिन्नँ।"

अस्तित्वगत खतराभन्दा रोजगारीमा पर्ने असरजस्ता एआईसम्बन्धी मुद्दाहरू अहिले ज्वलन्त रहेको उनी बताउँछन्।

"मलाई लाग्छ यसबाट हामीले एआईसम्बन्धी प्रशस्त र भिन्नभिन्न कुराहरू गलत बाटोमा जान सक्छन् भन्ने बुझ्नु पर्छ। के हामी यसका नियमन र अन्तर्राष्ट्रिय सन्धिहरूबारे ठिक काम गरिराखेका छौँ?"

उनी र अन्य आलोचकहरूले एआईले बुद्धिमत्ता र क्षमतामा कसरी त्यत्रो छलाङ मार्न सक्छ भन्नेबारे व्याख्या गर्न उक्त शोधपत्र विफल देखिएको बताएका छन्। त्यसो भन्दै गर्दा उनीहरूले सुस्त र अक्सर बढाइचढाई गर्ने गरिएको चालकरहित कारसम्बन्धी प्राविधिक विकासतर्फ सङ्केत गर्छन्।

के चीनमा पनि एआई२०२७ बारे बहस भइरहेको छ?

किङ्स कलेज लन्डनका अर्थशास्त्र र नवप्रवर्तन विषयकी सहायक प्राध्यापक तथा चिनियाँ प्रविधि विषयकी विज्ञ डा यूनडान गोङ चीनमा उक्त शोधपत्रको निकै कम प्रभाव परेको बताउँछिन्।

"धेरैजसो चर्चा अनौपचारिक मञ्च तथा निजी ब्लगहरूमा भइरहेको छ जसमा यसलाई अर्ध-विज्ञान कथाका रूपमा हेरिएको देखिन्छ। अमेरिकामा जस्तो व्यापक बहस भएको वा नीतिगत तहको ध्यान तानेको देखिँदैन," उनले भनिन्।

त्यसका साथै डा गोङ एआई वर्चस्वतर्फको होडलाई हेर्ने चीन र अमेरिकाको दृष्टिकोणमा भिन्नता रहेको औँल्याउँछिन्।

यो साता साङ्घाईमा भएको विश्व एआई सम्मेलनमा प्रधानमन्त्री ली चियाङले एआईबारे विश्वव्यापी साझेदारी बढाउनेतर्फ काम गर्ने देशहरूको अवधारणा सार्वजनिक गरे। उनले उक्त प्रविधिलाई नियमन र समन्वय गर्नेबारे चीनले सहयोगी भूमिका निर्वाह गर्न चाहेको बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एआईमा अमेरिकी 'प्रभुत्व' सुनिश्चित गर्ने उद्देश्यसहितको एआई कार्ययोजना सार्वजनिक गरेको केही दिनपछि चिनियाँ प्रधानमन्त्रीको उक्त भनाइ आएको हो।

"निर्विवाद र चुनौतीरहित विश्वस्तरको प्राविधिक प्रभुत्व हासिल गर्नु र त्यसलाई कायम राख्नु अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति अत्यावश्यक छ," ट्रम्पले आफ्नो दस्तावेजमा भनेका छन्।

उक्त कार्ययोजनाले अमेरिकामा एआईलाई अघि बढाउन ''प्रशासनिक झमेला र बोझिला नियमहरूलाई हटाउने' उद्देश्य राखेको छ।'

यी शब्दहरूले अचम्मसँग एआई२०२७ को कथानकलाई पच्छ्याउँछन् किनकि उक्त परिदृश्यमा अमेरिकी राजनीतिज्ञहरूले मेसिनमाथिको नियन्त्रण गुमाउँदा हुने कुनै पनि जोखिमको तुलनामा एआईको होडमा बाजी मार्ने कुरालाई प्राथमिकतामा दिन्छन्।

​​​​​​​एआई २०२७ बारे एआई जगत के भन्छ?

एआईका एकपछि अर्को उन्नत मोडल जारी गर्न एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका ठूला एआई कम्पनीका सीईओहरूले निकै हदसम्म उक्त शोधपत्रलाई नजरअन्दाज वा बेवास्ता गरिराखेको देखिन्छ।

एआईको भविष्यबारे प्राविधिक क्षेत्रका यी धुरन्धरहरूको दृष्टिकोण एआई२०२७ले प्रस्तुत गरेको भन्दा निकै भिन्न छ।

च्याटजीपीटीका निर्माता साम अल्टम्यानले हालै "मानवता 'डिजिटल सुपरइन्टेलिजन्स' निर्माणको निकट पुगेको र त्यसले शान्तिपूर्ण प्राविधिक क्रान्तितर्फ डोर्‍याउनुका साथै मानिसहरूमाथि खतरा पैदा नगरी प्रविधिको आदर्श स्थिति निम्त्याउने" बताएका थिए।

तर रोचक कुरा के हो भने उनी पनि 'अलाइनमेन्ट' मा समस्या भएको स्वीकार्छन् र बुद्धिमत्तापूर्ण मेसिनहरू मानवताको सर्वोत्तम इच्छाअनुरूप हुने सुनिश्चित गर्न उक्त समस्याबाट पार पाउनु पर्ने बताउँछन्।

अर्को दस वर्षमा परिस्थिति जे भए पनि हामीभन्दा तेज मेसिन बनाउने होड जारी रहनेमा चाहिँ कुनै शङ्का छैन।