फाप्ला बन्नेमा क्यान अध्यक्ष नै छैनन् विश्वस्त, तत्काल क्रिकेट रङ्गशाला बनाउन माग

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

धनगढी, कैलाली ।नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणको सफलतामा शंका व्यक्त गरेका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विशाल र दीर्घकालीन योजना भन्दा पनि अहिलेको आवश्यकता अनुसार तत्काल क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनका अनुसार तीन वर्षको पूर्वतयारीपछि पनि आयोजनाको ठोस काम सुरु नभएकाले यसले केवल सपना भएर सीमित हुने जोखिम बढेको छ ।“फाप्लाको सधैं चर्चा हुन्छ, नामै पनि ‘ड्रिम फाप्ला’ राखिएको छ”, उनले भने,“तर सपना त कहिलेकाहीँ पूरा नहुन पनि सक्छ । अहिलेको आवश्यकता क्रिकेट मैदान हो, त्यो बनाउनु जरुरी छ ।”
अध्यक्ष चन्दले फाप्लाको लागत भारतको नरेन्द्र मोदी स्टेडियमको स्तरको राखिएको भन्दै परियोजना व्यावहारिक नभएको तर्क गरे । “त्यति ठूलो लगानीमा आयोजना अघि बढाउँदा यो सफल होला भन्ने ग्यारेन्टी छैन,” उनले थपे,“क्रिकेटमै केन्द्रित योजनाबाट अगाडि बढ्दा राम्रो हुन्छ ।”

अध्यक्ष चन्दले फाप्ला आयोजना निर्माणमा नेपाल क्रिकेट संघको सहभागिता नहुनु गम्भीर विषय भएको उल्लेख गरे ।“क्यानलाई अझैसम्म कुनै जानकारी दिइएको छैन,” उनले स्पष्ट पारे । साथै, उनले फाप्ला आयोजना सुदूरपश्चिमको योगदानप्रति न्यायोचित नठहरिने गरी अगाडि बढेको जिकिर गरे ।
अध्यक्ष चन्दले सुदूरपश्चिममा अझै पनि स्तरीय खेलमैदान नहुनु दुर्भाग्यपूर्ण भएको बताए । “हजारौं खेलाडी भारत गएर प्रशिक्षण लिइरहेका छन्,” उनले भने, “अहिलेको पुस्ता प्रतिभाशाली छ । तिनीहरूले फाप्ला मैदानमा नै खेल्न पाउनु जरुरी छ । अहिले नै मैदान बनाउन उपयुक्त समय हो ।”
उनका अनुसार सुदूरपश्चिम प्रदेशले नेपाली क्रिकेटमा सबैभन्दा बढी योगदान दिएको भए पनि पूर्वाधार विकासको मामिलामा यो क्षेत्र पुछारमा छ । “अन्य प्रदेशका सरकारले जिम्मेवारी बुझेका छन्, तर यहाँ प्रदेश र स्थानीय सरकारलाई कन्भेन्स गर्न सकिएको छैन, चन्दले बताए ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीका अनुसार तीन वर्षको अवधिमा विस्तृत परियोजना प्रतिवेदन   तयार गरिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन संघीय मन्त्रालयबाट स्वीकृत गरिसकिएको छ । शाहीले स्वीकृति नै ‘ब्रेकथ्रु’ भएको दाबी गरे ।

तर, निर्माण स्थल खाली गर्ने, रुख कटान अनुमति प्राप्त गर्ने, बजेट सुनिश्चितता लिने, र ग्लोबल टेन्डर आह्वान गर्ने कार्यहरू अझै बाँकी छन् । उनका अनुसार कुल लागत २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जसमा पहिलो चरणमा निर्माण गरिने क्रिकेट मैदानका लागि मात्रै १४ अर्ब आवश्यक पर्नेछ ।

शाहीका अनुसार आयोजनास्थलमा करिब २६ हजार रुख रहेका छन् । रुख कटानका लागि स्थानीय सामुदायिक वनको सहमति, डिभिजन वन कार्यालयको सिफारिस, र सरकारले स्वीकृति दिनु पर्ने प्रक्रिया अझै पूरा हुन बाँकी छ ।

  फाप्ला खेलग्राममा ५० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, फुटबल मैदान, पौडी पोखरी, ट्रयाक, अभ्यास मैदान, स्पोर्ट्स म्युजियम, टेक्वान्डो एकेडेमी, मल्टिस्पोर्ट्स हल, खेलाडी र स्टाफ आवास, अस्पताल क्षेत्र, कमर्सियल मल, होटेल, पार्किङ संरचना र गार्डेन निर्माण गरिनेछ ।

तर, क्यान अध्यक्ष चन्दले यति विशाल आयोजना अहिलेलाई अव्यावहारिक ठहर गर्दै केवल क्रिकेट मैदान निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन् ।

त्यही पत्रकार सम्मेलनमा चन्दले सन् २०२६ मा हुने टी–२० विश्वकपमा नेपाल सहभागी हुनेमा आफू विश्वस्त रहेको बताए । एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नौ टोली सहभागी हुनेछन्, जसबाट तीन टोली विश्वकपका लागि छनोट हुनेछन् ।

उनले नेपाली क्रिकेटले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै नेपाललाई टेस्ट राष्ट्र बनाउने दीर्घकालीन योजना अघि सारिएको बताए । “एनपीएलले सातै प्रदेशमा क्रिकेट लोकप्रिय बनाएको छ” उनले भने ।

नेपाल प्रीमियर लिग ९एनपीएल० को पहिलो सिजनको हिसाबकिताब अझै पारित नभएपछि क्यानभित्र विवाद चुलिएको छ । तर अध्यक्ष चन्द मध्यमार्गी भूमिकामा देखिएका छन् । उनले न सचिव पारस खड्काको समर्थन गरेका छन्, न असन्तुष्ट पक्षको । “क्यानभ एउटा संस्था हो, जसमा सबैको विचार फरक हुन सक्छ,” उनले भने, “तर उद्देश्य एउटै — नेपाली क्रिकेटको विकास हो ।”

पारस खड्काले सार्वजनिक रुपमा आफूलाई श्रेय नदिएको विषयमा उनले प्रतिक्रिया दिन टारे । “मेरो योगदानबारे म आफैंले भन्ने कुरै छैन,” उनले भने, “तपाईंहरू खोज गर्न सक्नुहुन्छ ।