बाजुरामा अलपत्र सडक छाडेर मुख्यमन्त्री बन्दैछन् ‘ठेकेदार’ बानियाँ

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

काठमाडौं । बहादुरसिंह लामाले राजीनामा दिएसँगै इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा लामालाई बानियाँले पराजित गरेपछि उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।  

बानियाँ सम्भवतः मंगलबार नै मुख्यमन्त्री बन्दैछन् । तर राजनीतिक शक्ति केन्द्रमा पुग्न लागेका ‘क’ वर्गका निर्माण व्यवसायी बानियाँको कम्पनी बानियाँ निर्माण सेवाले ठेक्का लिएको बाजुराको मार्तडी–कोल्टी सडक भने वर्षौंदेखि अलपत्र छ । सडक नबन्दा स्थानीयले चरम सास्ती भोगिरहेका छन् । 

इजाजतपत्र नम्बर ३४९० रहेको निर्माण कम्पनीका सञ्चालक इन्द्रबहादुर बानियाँ हुन् ।  

काम नगर्दा बजेट फ्रिज 

प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रहेको मार्तडी–कोल्टी सडकखण्ड निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण बजेट नै फ्रिज हुने अवस्था छ । निर्माणको जिम्मा पाएको बानियाँ निर्माण सेवाले काम नगर्दा करिब १३ करोड रुपैयाँ फिर्ता भएको छ ।

पूर्वाधार विकास कार्यालय अछामका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग ५० करोड १७ लाखमा ठेक्का सम्झौता भएको थियो । २०७७ असारमा भएको सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले काम सम्पन्न गर्न सकेन । 

काम नसकेपछि कार्यालयले एक पटक म्याद थप गरे पनि चालु आर्थिक वर्षमा विनियोजित बजेट हुँदाहुँदै पनि ठेकेदारले काम नगरेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जंगबहादुर थापा बताउँछन् । थापाका अनुसार निर्माण कम्पनीले हालसम्म करिब डेढ करोडको मात्र काम गरेको छ, जसकारण विनियोजित बजेटमध्ये १३ करोड बढी रुपैयाँ फ्रिज भएको हो । 

कार्यालय स्रोतका अनुसार ९८ करोडको लागत अनुमान गरिएको उक्त २६ किलोमिटर सडकका लागि बाँनिया निर्माण सेवाले आधा रकममा ठेक्का पारेको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडकको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्खायाममा मार्तडी–कोल्टी सडक अवरुद्ध हुने र यसले स्थानीयलाई सास्ती हुने गरेको  छ ।

कुल ४१ किलोमिटर लामो यो सडकखण्डको बाँकी १५ किलोमिटर (मार्तडीदेखि ढम्कनेसम्म) कालोपत्रेका लागि ५८ करोड रुपैयाँ विनियोजन भएको छ । यो खण्डको काम भने समपूरक अनुदान (५० प्रतिशत सङ्घ र ५० प्रतिशत प्रदेश सरकार) अन्तर्गत अघि बढेको छ । जसमध्ये मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटरमा अधिकांश काम सम्पन्न भइसकेको छ भने चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर कालोपत्रेको काम भने धेरै बाँकी छ ।

Indra Baniya-Bajura Road1

‘मुख्यमन्त्री बन्नेले जनतालाई दुःख दिनु चिन्ताको विषय’ 

बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी–कोल्टी सडकखण्ड अलपत्र परेको आरोप लगाए । उनले सडक निर्माणको ठेक्का पाएका ठेकेदार इन्द्र बानियाँले समयमा काम नगर्दा र वर्षाले अवरुद्ध सडक नखोल्दा नागरिकले अकल्पनीय दुःख पाएको बताए ।

ठेकेदार बानियाँतर्फ लक्षित गर्दै उनले भने, ‘मुख्यमन्त्री बन्ने मान्छेले अर्काको जिल्लामा, अर्काको प्रदेशमा मानवीय हिसाबले जनतालाई यति दुःख दिनु चिन्ताको विषय हो ।’

 नगर प्रमुख खड्काले सडक निर्माणका लागि छुट्याइएको बजेट समेत काम नभएर फ्रिज भएको बताए । ‘यो वर्ष मात्रै १४ करोडको बजेटमा १ करोड मात्रै खर्च भयो, बाँकी १३ करोड फ्रिज गयो,’ उनले भने, ‘ठेकेदारले समयमा काम नगरेका कारण यो अवस्था आएको हो ।’

वर्षायाममा पहिरोले सडक अवरुद्ध हुँदा खोल्ने जिम्मेवारी पनि सम्बन्धित ठेकेदारकै भए पनि उनले बेवास्ता गरेको खड्काको आरोप छ । 

‘सम्बन्धित डिभिजन कार्यालय (साँफेको भौतिक पूर्वाधार कार्यालय) लाई ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा आएनन्,’ उनले भने, ‘कहिले आउनु भन्दैनन्, कहिले के गर्दैनन्, सम्पर्कमै आउँदैनन् ।’

नगरपालिकाले आफ्नो तर्फबाट सानो जेसीभीमार्फत सामान्य अवरोध हटाउने प्रयास गरे पनि ठूलो पहिरो पन्छाउन नसकिएको उनले बताए । ‘ठूलो पहिरो गएको हुनाले सम्बन्धित आयोजनाको ठेकेदारले नै काम गर्नुपर्ने हो, तर त्यो भएन,’ खड्काले भने ।

सडक अवरुद्ध हुँदा जिल्लाका चारवटा पालिकाका नागरिक सदरमुकामसँगको पहुँचबाट टाढा भएका छन् । एम्बुलेन्स चल्न नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ भने राष्ट्रिय परिचयपत्र बनाउने जस्ता सामान्य कामका लागि सदरमुकाम आउनुपर्ने नागरिकले १० देखि १५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘यो सरासर शक्तिमा भएका मान्छेहरूले गरेको हेलचेक्र्याइँ हो,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘यो विकट र दुर्गमका जनतामाथिको अन्याय हो । हामीले बारम्बार जिल्ला प्रशासन कार्यालयमा बैठक राख्यौँ, सम्बन्धित कार्यालयलाई ताकेता गर्‍यौँ, तर ठेकेदारको लापरबाहीले जनताले दुःख पाइरहेका छन् ।’