सुदूरपश्चिम समाज अमेरिकाद्वारा गौरा कार्यक्रम स्थगित

आइतबार भदौ १४, २०८३/ Sunday 08-30-26
Paschim Today

न्युयोर्क

सुदूरपश्चिम समाज अमेरिका, न्युयोर्कले आगामी सेप्टेम्बर ५ मा आयोजना गर्ने तय भएको गौरा पर्वसम्बन्धी कार्यक्रम स्थगित गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मातृभूमिले बेहोरेको अपूरणीय क्षतिका कारण नेपाल राष्ट्रिय शोकमा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै गौरा पर्व स्थगित गरिएको समाजले जनाएको छ।

‘गौरा हाम्रो संस्कृति, परम्परा र पहिचानको उत्सव हो। तर मातृभूमि शोकमा रहेका बेला उत्सवभन्दा मानवीय संवेदना, एकता र सहकार्यलाई प्राथमिकता दिनु हाम्रो दायित्व हो,’ समाजका अध्यक्ष नविन ओझा, वरिष्ठ उपाध्यक्ष तथा गौरा कार्यक्रम संयोजक रैभान महरा र महासचिव गणेश बिष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यही कारण न्युयोर्कको दिव्यधाम मन्दिरमा आयोजना गर्न सम्पूर्ण तयारी पूरा भइसकेको गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हौँ,’ विज्ञप्तिमा भनिएको छ।

समाजले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मातृभूमिलाई यो विषम परिस्थितिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

गौरा कार्यक्रम स्थगित गर्नुपरेकोमा श्रद्धालु, भक्तजन, सहयोगी तथा समाजका सदस्यहरूसँग क्षमायाचना गर्दै अध्यक्ष ओझाले कार्यक्रमका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्।