फ्रान्समा महँगीविरुद्धको आन्दोलन उग्र, देशभर तोडफोड र आगजनी
काठमाडौं । बढ्दो महँगी, सार्वजनिक शिक्षा क्षेत्रको कमजोर अवस्था लगायतका विषयलाई लिएर फ्रान्समा भइरहेको जनप्रदर्शन हिंसात्मक बनेको छ। राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्नुका साथै व्यापारिक प्रतिष्ठानमा लुटपाट गरेका छन्।
फ्रान्स २४ का अनुसार शनिबार भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार प्रदर्शनका क्रममा देशभरबाट १ हजार २०० जनालाई पक्राउ गरिएको छ भने १५० जना प्रहरी घाइते भएका छन्। गृहमन्त्री लरेन्ट नुनेजले प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएको बताएका छन्। राजधानी पेरिसमा मात्रै करिब १ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा नकाब लगाएका केही व्यक्तिले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै पटाका र आतसबाजी प्रयोग गरेका थिए। पेरिसका विभिन्न सडकमा पार्क गरिएका सवारीसाधनमा समेत आगजनी भएको थियो।
प्रहरीको ग्रिनेड विस्फोट हुँदा किशोर गम्भीर घाइते
दक्षिणी सहर सेन्ट(एटिएनमा भीड नियन्त्रणका लागि प्रयोग गरिने ग्रिनेड विस्फोट हुँदा १७ वर्षीय एक प्रदर्शनकारीको हात छुट्टिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय अभियोजन कार्यालयले घटनाको छानबिनका लागि सरकारी प्रहरी निरीक्षण निकायलाई निर्देशन दिइएको जनाएको छ। गृहमन्त्री नुनेजले युवकको चोट प्रहरीको ग्रिनेडका कारण लागेको हुन सक्ने जानकारी प्राप्त भए पनि त्यसको पुष्टि हुन बाँकी रहेको बताएका छन्।
यसअघि अक्टोबर ५ मा लेन्स सहरमा भएको प्रदर्शनका क्रममा पनि प्रहरीको स्टन ग्रिनेड विस्फोट हुँदा १५ वर्षीय किशोरको हात छुट्टिएको थियो।
ऐतिहासिक टाउन हलमा ठूलो क्षति
लिमोज सहरमा रहेको १४३ वर्ष पुरानो टाउन हलमा आगलागी हुँदा भवनको ठूलो भाग क्षतिग्रस्त भएको छ। स्थानीय अधिकारी मौरिस बारातका अनुसार आगलागीका कारण भवनको छत भत्किएर तल्लो तलामा खसेको थियो भने बाहिरी संरचनाको करिब दुईतिहाइ भाग नष्ट भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार नकाब लगाएका व्यक्तिहरूले नगर भवनबाहिर प्रहरीको गाडीमा आगो लगाएपछि झ्याल फुटाएर भवनभित्र प्रवेश गरेका थिए।
यस्तै, लियोँ सहरको केन्द्रमा रहेको पर्यटक सूचना केन्द्रमा आगजनी भएको छ। मार्से र लिलका नगरपालिकाका भवनमा प्रवेश गरेर तोडफोड गरिएको छ।
समाचार संस्था एएफपीका अनुसार मार्सेमा हर्मेसको बुटिक, लिलमा एप्पलको पसल, निसका विभिन्न व्यापारिक केन्द्र तथा पेरिसमा मोबाइल फोन पसललगायत दर्जनौँ व्यवसायमा लुटपाट भएको छ।
शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक गतिविधि मिसिएको आरोप
पेरिसका मेयर इमानुएल ग्रेगोयरले प्रदर्शनमा सहभागी अधिकांश मानिस शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न चाहेको बताएका छन्। तर, केही समूहले गरेका तोडफोड र हिंसात्मक गतिविधिले आन्दोलनको छविमा नकारात्मक असर पारेको उनको भनाइ छ।
पेरिसको पूर्वी तथा उत्तरी क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागी हजारौँ मानिसले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामा माग्दै नाराबाजी गरेका थिए।
प्रदर्शनमा सहभागी १९ वर्षीय लुइसले प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको आरोप लगाएका छन्। प्रहरीको व्यवहारका कारण सार्वजनिक रूपमा विरोध प्रदर्शन गर्नसमेत डर लाग्ने अवस्था बनेको उनको भनाइ थियो।
प्रदर्शनका क्रममा किशोरहरू घाइते हुनु र हजारौँ मानिस पक्राउ पर्नुले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि थप बढाएको बताइएको छ।
निर्वाचन नजिकिँदै गर्दा सरकारमाथि दबाब
बढ्दो महँगी र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिले फ्रान्सको राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ। राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा देशव्यापी प्रदर्शन र हिंसात्मक घटनाले राष्ट्रपति म्याक्रों तथा उनको सरकारमाथि राजनीतिक दबाब बढाएको छ।
आठ वर्षअघि इन्धनमा कर वृद्धि गर्ने सरकारी योजनाविरुद्ध आन्दोलन गरेको ‘येलो भेस्ट’ समूहले यसपटक विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गर्दै ‘येलो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो।
विद्यार्थीहरूको असन्तुष्टि, बढ्दो जीवनयापन खर्च र राजनीतिक अनिश्चितताबीच फैलिएको आन्दोलनले फ्रान्स सरकारका लागि सुरक्षा व्यवस्थापनसँगै जनआक्रोश सम्बोधन गर्ने चुनौतीसमेत थपेको छ। एजेन्सीको सहयोगमा






तपाईको प्रतिक्रिया