गेटा विश्वविद्यालयमा तत्काल अध्यापनको विपक्षमा डा. केसी

सोमबार कार्तिक ३, २०८३/ Monday 10-19-26
Paschim Today

धनगढीः डा. गोविन्द केसीले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्न माग गरेका छन्। न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नभएको दाबी गर्दै उनले चिकित्सा शिक्षा आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन्।

डा. केसीले आफ्ना चारबुँदे माग एक साताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। निर्णय प्रक्रियामा संलग्न चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारीको भूमिकामाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।

अयोग्य तथा स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई तत्काल बर्खास्त गर्नसमेत उनले आग्रह गरेका छन्। डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गरी आवश्यक मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन्। यसैगरी, गत साउन ११ गते सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न पनि उनले माग गरेका छन्।