८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास

सोमबार कार्तिक १०, २०८३/ Monday 10-26-26
Paschim Today

एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आइतबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक रनअफ निर्वाचनमा प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक राष्ट्रपतिको कार्यकाल सुरक्षित गरेका छन्।

यो अभूतपूर्व जित ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देशमा राजनीतिक इतिहासको अर्को महत्त्वपूर्ण अध्याय बनेको छ ।

ब्राजिलको सर्वोच्च निर्वाचन अदालत (टीएई) का अनुसार, ९९.९८ प्रतिशत मतदान केन्द्रहरूको मतगणना हुँदा लुलाले कुल सदर मतको ५१.७८ प्रतिशत प्राप्त गरे भने बोल्सोनारोले ४८.२२ प्रतिशत मत पाए।

 

 

यो विजयले ८० वर्षीय नेताको राजनीतिक जीवनलाई थप लम्ब्याएको छ। उनी गरिबीबाट उठेर ब्राजिलका पहिलो श्रमिक वर्गका राष्ट्रपति बनेका थिए । र, पछि भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगेपछि (जुन सजायहरू पछि रद्द गरिएका थिए) पुनः सत्तामा फर्किएका थिए।

 

 

वर्कर्स पार्टी (पिटी) का उम्मेदवार लुलाले अक्टोबर ४ मा भएको पहिलो चरणको निर्वाचनमा ४५.१६ प्रतिशत मत प्राप्त गरी ४७.०३ प्रतिशत मत ल्याएका सेनेटर बोल्सोनारो पछि दोस्रो स्थानमा रहेका थिए र त्यसपछि रनअफमा प्रवेश गरेका थिए।

यो पुनरागमनसँगै उनी ब्राजिलमा प्रजातन्त्रको पुनःबहाली भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेर पनि राष्ट्रपतिको निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका छन् । जसले उनको राजनीतिक जीवनमा अर्को ऐतिहासिक विशेषता थपेको छ।

साओ पाउलोमा आफ्नो विजयपछि बोल्दै लुलाले देशको राजनीतिक विभाजनका बाबजुद सबै ब्राजिलियालीहरूको हितमा शासन गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘निर्वाचित राष्ट्रपतिलाई सबैलाई मन पराउनुपर्छ भन्ने कुनै बाध्यता छैन, तर उनलाई सबैका लागि शासन गर्न चुनिएको हो,’ उनले संविधानप्रतिको सम्मानमा जोड दिँदै भने।

लुलाको यो पुनरागमनमा उनले उठाएका मुद्दाहरूले विशेष कारकको भूमिका निर्वाह गरेका छन् । जीवनयापनको लागत, सार्वजनिक सुरक्षा, भ्रष्टाचार र ब्राजिलको वैदेशिक सम्बन्धको दिशा र विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाप्रतिको बढ्दो तनावपूर्ण सम्बन्ध—जस्ता मुद्दाहरूले घेरिएको प्रचारप्रसार अभियान पछि आएको हो।

कारखानाको मजदुरदेखि राष्ट्रपतिसम्म

२७ अक्टोबर १९४५ मा उत्तर-पूर्वी राज्य पेर्नामबुकोमा जन्मिएका लुला गरिबीमा हुर्किएका थिए। पछि उनी आफ्नो परिवारसँग साओ पाउलो बसाइँ सरे । त्यहाँ उनले सानै उमेरदेखि काम गर्न थाले।

उनले धातुसम्बन्धी काम गर्ने मेटलवर्करको व्यावसायिक तालिम लिएका थिए ।

औद्योगिक दुर्घटनामा आफ्नो एउटा औँला गुमाएका थिए। यो अनुभव पछि ब्राजिलको श्रमिक वर्गको प्रतिनिधिको रूपमा उनको राजनीतिक पहिचानको एउटा महत्त्वपूर्ण हिस्सा बन्यो।

देशमा कायम सैन्य तानाशाहीको समयमा लुला सङ्गठित श्रमिक आन्दोलनमा सक्रिय भए ।

साओ पाउलोबाहिरको एक औद्योगिक केन्द्र साओ बर्नार्डो दो काम्पोको मेटलवर्कर्स युनियनको नेतृत्व तहसम्म पुगे।

सन् १९७० को दशकको उत्तरार्धमा उनले गरेका ठूला हड्तालहरूको नेतृत्वले उनलाई देशभर चर्चित बनायो। उनले सन् १९८० मा ट्रेड युनियनका कार्यकर्ता, वामपन्थी बुद्धिजीवी र सैन्य शासनको विरोध गर्ने अन्य समूहहरूलाई एकीकृत गर्दै ‘वर्कर्स पार्टी’ (पिटी) स्थापना गर्न सहयोग गरे।

सन् १९८६ मा कंग्रेस (संसद) मा निर्वाचित भएका लुलाले २००२ मा राष्ट्रपतिको चुनाव जित्नुअघि १९८९, १९९४ र १९९८ मा लगातार तीन पटक असफल प्रयास गरेका थिए।

उनले जनवरी २००३ मा आर्थिक स्थायित्व कायम राख्दै गरिबीविरुद्ध लड्ने प्रतिबद्धताका साथ पदभार ग्रहण गरे।

सन् २०१० मा समाप्त भएको उनको पहिलो दुई कार्यकालमा, ब्राजिलले वस्तु निर्यातमा आएको वृद्धि र आर्थिक वृद्धिबाट ठूलो लाभ उठायो। यसै क्रममा ‘बोल्सा फ्यामिलिया’ लगायतका सामाजिक कार्यक्रमहरूले लाखौँ न्यून आय भएका परिवारहरूलाई प्रत्यक्ष वित्तीय सहायता प्रदान गरे।

यस अवधिमा देशमा गरिबी उल्लेख्य रूपमा घट्यो । यद्यपि उनको प्रशासनले वरिष्ठ अधिकारीहरू र सांसदहरू जोडिएका भ्रष्टाचार काण्डहरूको पनि सामना गर्नुपर्‍यो।

लुला उच्च जनसमर्थनकासाथ पदबाट बिदा भए । उनको उत्तराधिकारीका रूपमा उनकी राजनीतिक सहयोगी दिल्मा रुसेफ राष्ट्रपति बनिन् । उनलाई पछि २०१६ मा महाअभियोग लगाएर पदमुक्त गरिएको थियो ।

कारागार यातना र राजनीतिक पुनरागमन

व्यापक रूपमा चलेको ‘अपरेशन कार वाश’ भ्रष्टाचार अनुसन्धानका क्रममा लुलाको राजनीतिक यात्राले ठूलो धक्का व्यहोर्‍यो । जसले राजनीतिज्ञ र व्यापारिक कार्यकारीहरूलाई घूसखोरी र मनिलान्ड्रिङमा मुछेको थियो।

उनलाई भ्रष्टाचार र मनि लान्ड्रिङको अभियोगमा दोषी ठहराइयो र अप्रिल २०१८ मा जेल हालियो । जसका कारण उनी सोही वर्षको राष्ट्रपतिको चुनाव लड्न पाएनन्।

नोभेम्बर २०१९ मा रिहा हुनुअघि उनले ५ सय ८० दिन जेलमा बिताए।

सन् २०२१ मा, ब्राजिलको सर्वोच्च अदालतले उनको मुद्दा हेर्ने अदालतको क्षेत्राधिकार नपुगेको ठहर गर्दै उनका सजायहरू रद्द गरिदियो। अदालतका अनुसार, पूर्व न्यायाधीश सर्जियो मोरो एउटा कारबाही प्रक्रियामा पूर्वाग्रहपूर्ण थिए।

यो निर्णयले लुलाको सार्वजनिक पदका लागि उम्मेदवार बन्न पाउने योग्यता पुनःबहाली गरिदियो।

उनी सन् २०२२ को निर्वाचनमा तत्कालीन बहालवाला राष्ट्रपति जेयर बोल्सोनारोलाई झिनो अन्तरले पराजित गर्दै कुल सदर मतको लगभग ५०.९ प्रतिशत प्राप्त गरेर पुनः राष्ट्रपतिका रूपमा फर्किए।

जनवरी २०२३ मा उनको पदभार ग्रहणको एक हप्तापछि, चुनावी परिणाम उल्टाउने उद्देश्यका साथ बोल्सोनारोका समर्थकहरूद्वारा कंग्रेस (संसद), सर्वोच्च अदालत र राष्ट्रपतीय भवनमाथि आक्रमण भएको थियो।

तेस्रो कार्यकाल र आन्तरिक कार्यसूची

आफ्नो तेस्रो राष्ट्रपतीय कार्यकालका क्रममा, लुलाले वित्तीय स्थायित्व कायम राख्ने प्रयास गर्दै गरिबी निवारण, सामाजिक खर्च, सार्वजनिक लगानी र वातावरणीय संरक्षणलाई प्राथमिकता दिए।

उनको प्रशासनले सामाजिक सहायता कार्यक्रमहरूको विस्तार गर्‍यो र ज्याला तथा रोजगारी सुदृढ गर्ने उपायहरू अपनायो । तर जीवनयापनको लागत, सरकारी खर्च र हिंस्रक अपराधसम्बन्धी चिन्ताहरूले उनको लोकप्रियतामा दबाब सिर्जना गरे।

केन्द्रमार्गी र रूढिवादी दलहरूको उल्लेखनीय प्रभाव रहेको कंग्रेस (संसद) मा कानुनहरू पारित गराउन सरकारले कठिनाइको सामनासमेत गर्नुपर्‍यो।

आफ्नो चौथो कार्यकालको अभियानका लागि, लुलाले ‘बोल्सा फ्यामिलिया’ लाई निरन्तरता दिने, किफायती आवासको विस्तार गर्ने र सार्वजनिक स्वास्थ्य सेवा तथा शिक्षालाई सुदृढ बनाउने प्रतिबद्धता जनाए।

काउन्सिल अफ इकोनोमिक एण्ड सोसल डेभलपमेन्टका उनका आर्थिक प्रस्तावहरूमा उच्च आयमा बढी कर, पूर्वाधार लगानीको निरन्तरता, स्वदेशी उत्पादनलाई सहयोग र न्यूनतम ज्यालामा थप वृद्धि समावेश थिए।

लुलाले ज्याला नकाटी मानक कार्यसप्ताहलाई ४४ घण्टाबाट घटाएर ४० घण्टामा ल्याउने कानुनको पनि वकालत गरे। यो अक्टोबर १६ मा जारी गरिएको एउटा संवैधानिक संशोधन भयो । जसले १४ महिनाको अवधिमा क्रमिक रूपमा लागू गरिनेछ।

तेल र ग्यासको निरन्तर विकासलाई समर्थन गर्दै सन् २०३० सम्ममा वनविनाश पूर्ण रूपमा उन्मूलन गर्ने लुलाको प्रतिबद्धतासँगै वातावरण संरक्षण अर्को प्राथमिकताका रूपमा रह्यो।

तथापि, उनको विजयले कंग्रेसमा नियन्त्रणको ग्यारेन्टी भने गर्दैन । जहाँ अक्टोबरको चुनावमा कन्जरवेटिभ दलहरूले आफ्नो प्रभाव बलियो बनाएका छन्।

व्यवस्थापिकाको यो संरचनाले कर सुधार, सामाजिक खर्च, सार्वजनिक सुरक्षाका उपायहरू र वातावरणीय कानुनहरू अगाडि बढाउने उनका प्रयासहरूलाई जटिल बनाउन सक्छ ।

जसले गर्दा उनको प्रशासनलाई आफ्नै राजनीतिक गठबन्धनबाहिरका दलहरूसँग सम्झौता गर्न बाध्य पार्न सक्छ।

वैदेशिक नीति र क्षेत्रीय प्रभाव

अन्तर्राष्ट्रिय मञ्चमा, लुलाले ब्रिक्समार्फत उदीयमान अर्थतन्त्रहरूसँग निकट सहकार्य बढाउने, चीनसँगको सम्बन्धलाई सुदृढ बनाउने र ब्राजिलका लागि ठूलो कूटनीतिक भूमिकाको वकालत गर्ने नीति लिएका छन्।

उनले गाजामा इजरायलको सैन्य कारबाहीको आलोचना गरेका छन्, प्यालेस्टिनी राष्ट्रियताको समर्थन गरेका छन् र अन्तर्राष्ट्रिय द्वन्द्वहरूको वार्ताद्वारा समाधान खोज्न आह्वान गरेका छन्।

वासिङ्टनसँग उनको सम्बन्धमा भने चिसोपन आएको छ; ट्रम्पले ब्राजिलियन वस्तुहरूमा भन्सार महसुल (ट्यारिफ) लगाएका थिए र पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए। यद्यपि, ट्रम्पले सन् २०२६ को निर्वाचनमा आधिकारिक रूपमा फ्लाभियो बोल्सोनारोलाई समर्थन गर्नबाट भने आफूलाई पछाडि नै राखे।

लुलाले ब्राजिलको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको रूपमा देखेका कुराहरूको तीव्र आलोचना गर्दै राष्ट्रिय सार्वभौमसत्तालाई आफ्नो पुनःनिर्वाचन अभियानको केन्द्रीय विषय बनाए।

उनको यो पछिल्लो विजय ल्याटिन अमेरिकाभरि भइरहेको व्यापक दक्षिणपन्थी फेरबदलका बीच आएको हो, जहाँ चिली, कोलम्बिया र पेरुसहित धेरै देशहरूमा रूढिवादी सरकारहरू सत्तामा आएका छन् र तीमध्ये केहीले ट्रम्पसँग निकट सम्बन्धको खोजी गरिरहेका छन्।

यो परिणामले ब्राजिललाई वासिङ्टनप्रति स्वतन्त्र कूटनीतिक दृष्टिकोण कायम राख्ने र ‘ग्लोबल साउथ’ (विकासोन्मुख राष्ट्रहरू) सँग बढावा दिने क्षेत्रकै ठूला सरकारहरूमध्ये एकका रूपमा उभ्याएको छ।

लुलाको नयाँ चार वर्षे कार्यकाल जनवरी ५, २०२७ देखि सुरु हुनेछ, जसले उनको राष्ट्रपतीय यात्रालाई झन्डै तीन दशकसम्म विस्तार गर्नेछ।