उपाधि रक्षा अभियानमा रहेको लुम्बिनीलाई सुदूरपश्चिमको चुनौती

सोमबार कार्तिक १०, २०८३/ Monday 10-26-26
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आज (कात्तिक ९)देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् । अघिल्ला संस्करणको तुलनामा यस वर्ष नगद पुरस्कार रकम बढाइएको छ ।

गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यसपालि विजेताले एक करोड ५० लाख उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यो खेल साँझ ५ बजेदेखि सुरु हुँदै छ । 

उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी जितका साथ सुखद सुरुआतको लक्ष्यमा हुनेछ । टोलीले भारतका टिनु योहानानलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । उनैले लुम्बिनीलाई दोस्रो सिजनको च्याम्पियन बनाएका थिए ।

लुम्बिनीले यस सिजनका निम्ति बंगलादेशका शमीन हुसेन र अमेरिकाका श्याड्ली भान शाल्क्विकलाई नयाँ खेलाडीका रूपमा अनुबन्ध गरेको छ । दुवै खेलाडीका निम्ति एनपीएल नयाँ अनुभव हुनेछ ।

लुम्बिनीले तेस्रो सिजनमा पनि नामिबियाका रुबेल ट्रम्पलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोसन डिकवेललाई विदेशी खेलाडीका रूपमा निरन्तरता दिएको छ । अघिल्लो सिजनमा यी तीनैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लुम्बिनीमा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, अभिषेश गौतम, तिलक भण्डारी, किशोर महतोजस्ता चर्चित घरेलु खेलाडी पनि छन् । 

सुदूरपश्चिम पनि गत सिजन फाइनलमा व्यहोरेको हारको बदला लिँदै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छ । पछिल्ला दुई सिजनको फाइनलमा व्यहोरेको हारको पीडा भुलाउँदै उपाधि जित्ने लक्ष्य लिएको सुदूरपश्चिमले एनपीएलको तयारी भारतमा गरेको थियो ।

टोलीले पाकिस्तानका मिस्बाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । अघिल्ला दुई सिजन जगत टमाटाले टोलीको प्रशिक्षण सम्हालेका थिए ।

सुदूरपश्चिमले वेस्ट इन्डिजका दुई आक्रामक स्टारको पहिचान बनाएका शेरफन रदरफोर्ड र फाबियन एलनलाई यसपालि टोलीमा भित्र्याएको छ । न्युजिल्यान्डका स्कटकुगेलेइनलाई लगातार तेस्रो सिजन पनि निरन्तरता दिइएको छ । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलन र इंग्ल्यान्डका सैफ जैबलाई पनि समेटिएको छ । दुवैले पहिलो सिजन सुदूरपश्चिमबाटै खेलेका थिए ।

अघिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गरेका हरमीत सिंह भने यसपटक टोलीमा हुने छैनन् । उनी सुदूरपश्चिम छाडेर जनकपुर बोल्ट्स पुगेका छन् ।

सुदूरपश्चिमका निम्ति घरेलु खेलाडी पनि निर्णायक बन्न सक्छन् । सुदूरपश्चिममा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, इशान पाण्डे, आरिफ शेख, अभिनाश बोहरा, हेमन्त धामीजस्ता घरेलु खेलाडी छन् ।

हेड टु हेड
एनपीएलमा हालसम्म यी दुई टोलीबीच तीन खेल भएका छन् । तीमध्ये सुदूरपश्चिमले दुई र लुम्बिनीले एक जित निकालेका छन् ।

पहिलो सिजनको लिग चरणमा सुदूरपश्चिम रोयल्स ४५ रनले विजयी भएको थियो । दोस्रो सिजनको लिग चरणमा पनि सुदूरपश्चिमले ७ विकेटको जित निकालेको थियो । सोही संस्करणको फाइनलमा भने लुम्बिनीले ६ विकेटको जित निकाल्दै उपाधि उचालेको थियो ।