एनपीएल सिजन ३ कसरी हेर्ने लाइभ ? मोबाइलदेखि टेलिभिजनसम्म यस्तो छ व्यवस्था
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । क्रिकेटका पारखीले अब टेलिभिजन, मोबाइल र कम्प्युटरबाट प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सक्नेछन् ।
तर, एनपीएलका खेल कहाँबाट हेर्ने ? टेलिभिजनमा हेर्न अतिरिक्त शुल्क तिर्नुपर्छ कि पर्दैन ? अनि मोबाइलबाट हेर्न के गर्नुपर्छ ?
पहिले कुरा गरौं, टेलिभिजनबाट कसरी हेर्ने ?
एनपीएलका खेल हिमालयन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछन् । त्यसैले आफ्नो केबल वा डिटिएच टेलिभिजनमा हिमालयन स्पोर्ट्स च्यानल उपलब्ध छ भने त्यहीँबाट खेल हेर्न सकिन्छ । यसका लागि छुट्टै सब्स्क्रिप्सन लिनु पर्दैन ।
विगतका केही ठूला खेलकुद प्रतियोगिता (जस्तै फिफा विश्वकप) मा जस्तो एनपीएल हेर्न दर्शकले ‘पे-पर-भ्यु’ वा अतिरिक्त सब्सक्रिप्सन शुल्क तिर्नुपर्ने छैन ।घरमा नेटटिभी, डिशहोम, भायाटिभी, क्लियर टिभी वा एनटिटिभी प्रयोगकर्ताले नियमित प्रसारणमै खेल हेर्न पाउनेछन् । साथै, दर्शकको सहजताका लागि खेलको प्रत्यक्ष प्रसारण नेपाली र मैथिली गरी दुई भाषामा हुनेछ ।
हिमालयन टेलिभिजनले एनपीएलको प्रत्यक्ष प्रसारणका लागि नेपाल क्रिकेट संघ अर्थात् क्यानलाई मूल्य अभिवृद्धि करसहित १७ करोड २४ लाख रुपैयाँ बुझाएको थियो ।
टेलिभिजनबाट एनपीएल हेर्न दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । तर, आफ्नो टेलिभिजन सेवाप्रदायकमा हिमालयन स्पोर्ट्स च्यानल उपलब्ध छ कि छैन भन्ने कुरा भने पहिले नै बुझ्नुहोस् ।
अब मोबाइल र कम्प्युटरबाट कसरी हेर्ने त ?
यदि तपाईं घरबाहिर हुनुहुन्छ वा मोबाइल र कम्प्युटरबाटै खेल हेर्न चाहनुहुन्छ भने नेटटीभीको माध्यम प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसका लागि नेटटीभीको एप वा वेब टिभी खोल्नुपर्छ । त्यसपछि एनपीएलको सिजन पास खरिद गरेर प्रतियोगिताका खेल हेर्न सकिन्छ ।
नेपालभित्रका दर्शकका लागि प्रतियोगिताभरिका खेल हेर्ने सिजन पासको मूल्य ४ सय रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा टेलिभिजनतर्फ स्टार स्पोर्ट्स मार्फत प्रत्यक्ष प्रसारण हुनेछ भने ओटीटीमा नेटटिभी एपमार्फत नै विश्वभर खेल हेर्न सकिनेछ ।
नेपालमा किनिएको ४०० रुपैयाँको पास विदेशमा सिधै प्रयोग गर्न मिल्दैन । विदेशमा रहेका दर्शकका लागि क्षेत्रअनुसार शुल्क तोकिएको छ । खाडी मुलुकका लागि ६०० रुपैयाँ (वा ४ अमेरिकी डलर) तथा अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया आदिका लागि १० अमेरिकी डलर निर्धारण गरिएको छ। भारतमा भने नेटटिभीका साथै फ्यानकोडमार्फत टुर पास लिएर पनि खेल हेर्न सकिनेछ ।
ईसेवा वा खल्तीबाट पनि किन्न सकिन्छ सिजन पास
एनपीएलको सिजन पास ईसेवा वा खल्तीबाट पनि खरिद गर्न सकिन्छ । यसका लागि नेटटीभीको एनपीएल सिजन पाससम्बन्धी विकल्प छनोट गर्नुपर्छ ।
भुक्तानी गरेपछि प्राप्त हुने कुपन कोड प्रयोग गरेर नेटटीभीमा सिजन पास सक्रिय गर्न सकिन्छ । त्यसपछि मोबाइल वा कम्प्युटरबाट खेल हेर्न सकिन्छ ।
प्रतियोगिताको खेलतालिकाअनुसार एक खेल हुने दिन खेल साँझ ५ बजे सुरु हुनेछ । दुई खेल हुने दिन भने पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।






तपाईको प्रतिक्रिया