एनपीएलमा सबैको नजर प्ले–अफ समीकरणतिर

सोमबार कार्तिक २४, २०८३/ Monday 11-09-26
Paschim Today

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सुरु भएको हिजै जस्तो लाग्न सक्छ, तर प्रतियोगिताको लिग चरणमा अब १० खेल मात्र बाँकी छन् । अहिलेसम्म भएका १८ खेलमा सबथोक रह्यो भन्दा हुन्छ, अलिकति विवाद, अलिकति तनाव । त्यस्तै धेरै रोमाञ्चकता र सनसनी । 

अनि केही एकपक्षीय र कम रोमाञ्चक खेल पनि । तेस्रो सिजनलाई लिएर सबैभन्दा सुखद पक्ष के भने यसले त्यति धेरै चर्चा पाएको छ कि यसका लागि नेपाली क्रिकेट सबैप्रति आभार हुनै पर्छ । अहिलेसम्म जति खेल भए, त्यसले कुनै पनि टिमलाई प्ले–अफसम्म पुर्‍याएको छैन । 

यसैले अबका खेलमा अझ धेरै गतिला र माथिल्लोस्तरको खेल अपेक्षा गर्न सकिन्छ । आइतबारको विश्रामपछि दुई दिनमा तीन खेल परेका छन् । त्यसमध्ये सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स तथा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्दै छन् । मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् । 

लगतै लिग चरणको अन्तिम विश्राम बुधबार परेको छ । त्यसपछि लगातार चार खेल हुनेछन् र यसैले प्ले–समीकरणको अन्तिम स्वरूप तयार पार्नेछ । गणितीय रूपमा सबै टिमको अर्को चरण पुग्ने सम्भावना कायम छ । शीर्ष र सातौं स्थानमा रहेको टिमबीचको अन्तर तीनै अंक मात्र रहेको हुनाले सबै प्रकारको सम्भावना खुला छ । हुन सक्छ, ८ अंक प्ले–अफ प्रवेशका लागि कम्तीको प्रदर्शन मानिए तापनि त्योभन्दा कम अंकले पनि कुनै भाग्यमानी टिमलाई इलिमिनेटरसम्म पुर्‍याउन सक्छ । ८ अंक नै जोड्ने टिम पनि प्ले अफमा नपुग्न सक्छ । 

यस्तोमा सबै आठ टिमतिर एक दृष्टि लगाऔं । 

लुम्बिनी लायन्स

सम्भवतः लुम्बिनीलाई यति बेला काठमान्डुविरुद्धको हार पचाउनै गाह्रो भइरहेको हुनुपर्छ । नहोस् पनि किन र, लगातार जित्ने बानी परेपछि आउने एकाएक हारले कसैलाई पनि स्तब्ध बनाउन सक्छ । लुम्बिनी १० खेलयता पहिलो पटक पराजित रहेको हो । तर पनि लुम्बिनी अहिलेसम्म केही हदसम्म आरामदायी स्थितिमै छ । रोहित पौडेलको लुम्बिनी पाँच खेलबाट सात अंकमा अझै पनि शीर्ष स्थानमा छ । प्ले–अफ प्रवेशका लागि चाहिने स्थिति बनाउने अवसर उसकै हातमा छ । 

उसले खेल्न बाँकी दुई खेलमध्ये एक जित पनि उसका लागि लिग चरण काट्न पर्याप्त हुन सक्छ । त्यसैले लुम्बिनीलाई सजग हुन पनि उत्तिकै आवश्यक छ । तय छ, उसको एक नजर अंक तालिकामा लगातार रहनेछ । तर अहिलेसम्मको प्रदर्शनलाई हेर्ने हो भने डिफेन्डिङ च्याम्पियन रहेको लुम्बिनी प्ले–अफ प्रवेशका लागि हकदार देखिन्छ । उसका अन्तिम दुई खेल कर्णाली र विराटनगरविरुद्ध रहेका छन् । 

काठमान्डु गोर्खाज

यति बेला कुनै एक टिम सबैभन्दा आरामदायी स्थितिमा छ भने त्यो काठमान्डु नै हो । जनकपुरविरुद्धको पहिलो खेलमा उसको प्रदर्शन सुतेको टिम जत्तिकै थियो । तर लगातार तीन खेल जितेपछि यो जत्तिको ब्युँझिएर खेलेको टिम अर्को कुनै छैन जस्तो लाग्छ । सम्भवतः डेविड वार्नरको आगमनले टिम एकाएक बलियो देखिएको छ र उनको प्रभाव टिममा सकारात्मक देखिएको छ । अहिलेका लागि काठमान्डु ६ अंकमा दोस्रो स्थानमा छ र उसका थप एक जितको अर्थ हुनेछ, प्ले–अफ प्रवेश । प्रश्न अर्को पनि छ, वार्नर कति खेलसम्म गोर्खाजको टोलीमा हुनेछन् । 

काठमान्डुले प्राप्त गरेका पछिल्ला तीन जित उत्तिकै सम्झनलायक रहेका छन् । विशेषतः कर्णालीविरुद्ध जसरी उसले ठूलो लक्ष्य सफलतापूर्वक पछ्याएको छ, त्यसले करण केसीको टिम बेग्लै सावित भएको छ । एक प्रकारले टिम मीठो लयमा प्रवेश गरेको छ र यसले फाइदा लिनै पर्छ । काठमान्डुले चारै खेल मात्र खेलेको छ, त्यसैले पनि उसका सामु अबका तीन खेलमा आफू अनुकूल नतिजा निकाल्ने रणनीति बनाउने अवसर हुनेछ । उसका बाँकी खेल चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सविरुद्ध रहेका छन् । 

सुदूरपश्चिम रोयल्स

यसअघिका दुर्ई सिजनका लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन जति सानदार थियो, ठीक यस्तै प्रदर्शन उसले यसपल्ट दोहोर्‍याउन सकेको छैन । यसपल्ट सुदूरपश्चिमको टिम दुई खेलमा पराजित भइसकेको छ । त्यस अर्थमा सुदूरपश्चिमको प्रदर्शन यसपल्ट त्यस्तो सुमधुर रहेन, जस्तो पहिले थियो । तर तीन खेलमा प्राप्त जितले सुदूरपश्चिम छ अंकमा तेस्रो स्थानमा छ । विराटनगरविरुद्ध पाँच ओभरमा झारिएको खेलमा सुदूरपश्चिम जसरी पराजित रह्यो, त्यस गुनासो अझै पनि टिमको मनमा हुनुपर्छ । 

तर त्यसयता प्राप्त दुई जितले सुदूरपश्चिमको मन फेरि बलियो भएको हुनुपर्छ र एक नजर प्ले–अफमै हुनुपर्छ । यति भन्दै गर्दा पनि सुदूरपश्चिमले अहिले नै राहत महसुस गर्ने अवसर बनेको छैन । अबको खेलमा एक हारको अर्थ सुदूरपश्चिमका लागि उत्तिकै कठिन स्थिति बनाउने अवस्था हुन सक्छ । अबका खेलमा सुदूरपश्चिमले खेल्ने भनेको जनकपुर र काठमान्डुविरुद्ध हुन् । सुदूरपश्चिमका प्रशिक्षक मिसबह उल–हक सकारात्मक देखिन्छन् र उनले सुरुमै विश्वास पनि पोखिसकेका छन्, यो टिम अगाडि बढ्छ नै । 

चितवन राइनोज

चितवनको प्रदर्शन यसपल्ट पनि उतारचढावपूर्ण रहेको छ भन्दा हुन्छ । अहिलेसम्म खेलका चार खेलमा दुई जित र एक हार रहेको छ भने एक खेलमा कुनै नतिजा निस्केन । त्यसैले उसको पाँच अंक छ र चौथो स्थानमा रहेको छ । चितवनले पहिलो सिजन इलिमिनेटर खेलेको थियो । तर दोस्रो सिजन यो टिम लिग चरणमै रोकियो र अगाडि बढ्न सकेन । दोस्रो सिजन चितवन लिग चरणका आफ्ना अन्तिम चार खेलमा लगातार पराजित रहेको थियो र यो असाध्यै खराब प्रदर्शनको स्थिति थियो ।

कम्तीमा त्यस्तै प्रदर्शन यसपल्ट चितवनको छैन भन्दा हुन्छ । पोखराविरुद्ध प्राप्त पछिल्लो जितले टिममा आत्मविश्वास फर्केको हुनुपर्छ । चितवनलाई पनि एउटा फाइदा के छ भने उसका तीन खेल बाँकी छन् र उसले पनि आफ्नो अनुकूल नतिजा निकाल्न त्यहीअनुसारको प्रदर्शन योजना बनाउन सक्छ । चितवनले अबका खेलमा काठमान्डु, जनकपुर र कर्णालीको सामना गर्नेछन् । यी प्रतिद्वन्द्वीको नाम हेर्दा अबका खेलमा चितवनलाई सजिलो पक्कै पनि रहने छैन ।  

जनकपुर बोल्ट्स

पहिलो सिजन उपाधि जितेर सनसनी मच्चाएको जनकपुरको दोस्रो सिजनको प्रदर्शन भने असाध्यै खराब रह्यो । तेस्रो सिजनमा जनकपुरले न त पहिलो सिजनको जस्तो लय देखाउन सकेको छ, न त उसको प्रदर्शन दोस्रो सिजनमा जस्तै खराब रहेको छ । यही मिश्रित नतिजा पनि पूर्वच्याम्पियन टिमका लागि टाउको दुखाइ हुन सक्छ । उसले अहिलेसम्म पाँच खेल खेलेकामा तीन गुमाएको छ । त्यसको अर्थ दुई जितमा जनकपुर चार अंकमा सीमित छ र लिग तालिकाको पाँचौं स्थानमा छ । 

त्यसैले अबका दुई खेलमा जनकपुरसामु जितबाहेक अर्को विकल्प नहुन सक्छ । अबका दुई खेलमा एक हारको अर्थ पनि प्रतियोगिताबाट बाहिरिनुजत्तिकै हुन सक्नेछ । त्यसैले जनकपुरसामु अब दुई असाध्यै महत्त्वपूर्ण खेल छन् र ती सुदूरपश्चिम तथा काठमान्डुविरुद्ध रहेका छन् । सुरुआती तीन खेलसम्म चार अंकमा रहेका बेला जनकपुरको स्थिति असाध्यै बलियो देखिएको थियो । तर त्यसपछिका दुई खेल गुमाएर जनकपुर दबाबमा आएको हो । प्रशिक्षक शिवनारान चन्द्रपउलले ठीकै भनेका छन्, अबका खेलमा केही ठूलो राम्रो गर्नै पर्छ । 

कर्णाली याक्स

कर्णालीले सुरुआती दुई खेल जितेर सानदार सुरुआत त लियो, तर त्यसलाई कायम भने राख्न सकेन । त्यसैले कर्णाली पछिल्ला दुई खेलमा पराजित भएको छ । यिनै दुई हारले कर्णालीलाई दबाबमा राखेको छ । कर्णालीले पनि अहिलेसम्म चारै खेल खेलेको छ, त्यसैले उसको सामु पनि तीन खेलको विकल्प खुला रहेको छ । कर्णालीले जसरी काठमान्डुविरुद्धको खेल गुमाएको थियो, त्यसले उसलाई धेरै पीडा दिएको हुनुपर्छ । सम्भवतः यो खेल जितेको भए, कर्णालीको कुनै बेग्लै हुने थियो । 

अहिले चार अंकमा छैटौं स्थानमा रहेको कर्णालीले प्ले–अफ प्रवेशका लागि कम्तीमा थप दुई जित आवश्यक छन् । अबका उसका तीन खेल पोखरा, लुम्बिनी र चितवनविरुद्ध रहेका छन् । अहिले तत्कालका लागि कर्णालीको एउट लक्ष्य हुनुपर्छ, पोखराविरुद्धको आफ्नो अर्को खेलमा निश्चित जित निकाल्ने । खराब लयमा रहेको पोखरा नै अबको प्रतिद्वन्द्वी रहेको हुनाले कर्णालीका लागि यो अवसर बनेको छ । त्यसमाथि डेविड मिलरको आगमनले पनि टिम उत्साहित हुनु पर्छ । यी दक्षिण अफ्रिकी खेलाडीले सुदूरपश्चिमविरुद्ध खेलेको पहिलो खेलमा सबैको मन जितेकै थिए । 

विराटनगर किंग्स

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरले धेरै हदसम्म निराश पारेको छ भन्दा हुन्छ । यो के अर्थमा भन्दा टिम जति बलियो छ, त्यसैअनुसारको प्रदर्शन मैदानमा देखिएको छैन । उसले अहिलेसम्म खेलेका पाँच खेलमा दुई जित मात्र निस्केको छ । त्यसको अर्थ टिमको चार अंक मात्र छ र पुछारबाट दोस्रो स्थानमा छ । टिम लगभग ‘गर या मर’ को स्थितिमा पुगेको मान्न सकिन्छ । विराटनगर जसरी चितवन र कर्णालीविरुद्धका सुरुआती दुई खेलमा पराजित रह्यो, त्यसो पीडादायी रह्यो । 

ती खेलमा विराटनगर जितको संघारबाट पराजित रह्यो । त्यसपछि विराटनगर दुई जित निकाल्न पनि सफल रह्यो, तर काठमान्डुविरुद्धको खेलमा उसको प्रदर्शन फेरि एकपल्ट खराब रह्यो । सन्दीपकै भाषामा भन्दा त्यस खेलमा विराटनगरको प्रदर्शन न ब्याटबाट राम्रो रह्यो, न बलबाट । फिल्डिङ पनि उत्तिकै नराम्रो रह्यो । यस्तोमा विराटनगरले अबका दुई खेलमा राम्रो गर्नुबाहेक अर्को विकल्प छैन । उसका अबका दुई खेल पोखरा र लुम्बिनीविरुद्ध रहेका छन् । अब तत्कालका लागि विराटनगरले पोखरालाई ठूलो अन्तरले हराउनुमा ध्यान केन्द्रित गर्नुपर्छ । 

पोखरा एभेन्जर्स

प्रतियोगितामा सहभागी सात टिमलाई लिएर हामी जसरी प्ले–अफको समीकरणका कुरा गर्छौं, त्यस्तै सौभाग्य किन हो पोखराले प्राप्त गर्नै सकेको छैन । तीन सिजनमा सबैभन्दा खराब प्रदर्शन गर्ने पोखरा यसपल्ट पनि प्ले–अफबाट असाध्यै टाढा रहेको छ, अझ भन्ने हो भने उसको सम्भावना गणितीय मात्रै हो । यो टिम बाहिरियो भन्न नमिल्ने अवस्था मात्र जस्तै पनि हो । शून्य अंकमा पुछारमा रहेको पोखरा आफ्ना सुरुका चारै खेलमा पराजित रहेको हो । त्यसमध्ये तीन खेल कुशल भुर्तेलको नेतृत्वमा खेलेको थियो । 

चौथो खेल आइपुग्दा उनी खेलाडीमै मात्र सीमित रहे । तेस्रो हारपछि उनको प्रतिक्रिया थियो, पोखरा किन र कसरी हार्छ भन्नै सकिएको छैन । यति प्रतिक्रियाले पोखराको स्थिति प्रस्ट पार्छ । पोखराले तीनै सिजन गरेर खेलेका १८ खेलमध्ये १३ मा पराजित रहन्छ भने स्पष्ट छ, टिममा ठूलै समस्या छ । यति भन्दैमा अब पनि पोखराले खराब खेल्छ भन्ने होइन । जति बेला केही गुमाउनु बाँकी हुन्न, त्यति बेला कसैले पनि अपेक्षाभन्दा बढी राम्रो खेल्न सक्छ, पोखराबाट यति त अपेक्षा राख्नै सकिन्छ । उसका बाँकी खेल कर्णाली, विराटनगर र काठमान्डुविरुद्ध छन् ।