गेटा विश्वविद्यालयको सञ्चालनमा अवरोध नगर्न प्रधानमन्त्रीलाई आग्रह
धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न माग गर्दै विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। डा. गोविन्द केसीले सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएकोप्रति आपत्ति जनाउँदै जिल्ल प्रशासन कार्यालय कैलाली मार्फत समितिले ज्ञापनपत्र बुझाएको हो ।
'सरकारलाई जवाफदेही बनाउन आवश्यक छ। तर गेटा विश्वविद्यालयको शैक्षिक भविष्य र सञ्चालन प्रक्रियालाई अनिश्चित बनाउने कुनै पनि दबाब वा गतिविधि सुदूरपश्चिमका नागरिकलाई स्वीकार्य हुन सक्दैन,' ज्ञापनपत्रमा उल्लेख छ। समितिले विश्वविद्यालयको ऐन संशोधन, शैक्षिक कार्यक्रमको सिट निर्धारण र पदाधिकारी नियुक्तिमा विवाद सिर्जना नगर्न माग गरेको छ। विश्वविद्यालयलाई अन्योलमा पार्ने गतिविधि रोक्न पनि आग्रह गरेको छ।
विश्वविद्यालय सञ्चालनका नाममा अनावश्यक संशोधन र निर्णयबाट शैक्षिक कार्यक्रम प्रभावित पार्न नहुने समितिको भनाइ छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा गुणस्तरीय सेवाको पक्षमा रहेको समितिले जनाएको छ। 'सुधारका नाममा विश्वविद्यालयको भविष्य अन्योलमा पार्ने गतिविधि स्वीकार्य हुँदैन,' ज्ञापनपत्रमा भनिएको छ।
समितिले सुदूरपश्चिमका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिन माग गरेको छ। शैक्षिक कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति र रोजगारीमा प्राथमिकता दिनुपर्ने पनि जनाएको छ। आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा गर्नुपर्नेमा समितिले जोड दिएको छ। तर मापदण्ड पूरा गर्ने नाममा विश्वविद्यालय सञ्चालन रोक्न नहुने संघर्ष समितिको भनाइ छ।
विश्वविद्यालय सञ्चालनमा अवरोध सिर्जना भए र विद्यार्थीको भविष्य अन्योलमा पार्ने अवस्था आए संघर्ष गर्न बाध्य हुने संघर्ष समितिका संयोजक लोकराज पाण्डेय बताए । विश्वविद्यालय स्थापना सुदूरपश्चिमका जनताको दशकौँदेखिको संघर्ष, त्याग र बलिदानको प्रतिफल भएको भन्दै यसमा अवरोध गर्ने छुट कसैलाई नभएको पाण्डेयको भनाइ छ ।





तपाईको प्रतिक्रिया