अँध्यारो बेसमेन्टदेखि ‘सिलिकन पिक्स’सम्म : पुकार हमालको प्रेरणादायी यात्रा
न्यूयोर्कको एउटा अँध्यारो बेसमेन्टमा चार वर्ष बिताएका पुकार हमाल आज अमेरिकाको सिलिकन भ्यालीमा स्थापित प्रविधि उद्यमी हुन्। ३५ वर्षको उमेरमै उनी साइबर सुरक्षा क्षेत्रमा विश्वका ठूला प्रविधि कम्पनीहरूसँग काम गर्ने कम्पनी सेक्युरिटीपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन्।
सानो अँध्यारो कोठाबाट सुरु भएको उनको यात्रा अहिले सान फ्रान्सिस्कोको चर्चित सेल्सफोर्स टावरको ३७औँ तलासम्म पुगेको छ। ६१ तले यो भवनको ३७औँ तलामा सेक्युरिटीपालको मुख्यालय छ।
बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदी । त्यही किनारमा सानो बजार गोकुलेश्वर । त्यही थियो, उनका हजुरबुवा रामचन्द्र हमालको बसोबास । प्रजातन्त्रको पक्षमा पर्चा छरेको आरोपमा पञ्चायती व्यवस्थाले पक्राउ गरेका रामचन्द्रको २०३० सालमा नख्खु कारागारमै मृत्यु भयो। परिवारको सर्वस्वहरण भयो। त्यसपछि उनका बुवा हरिश हमालले केही समय भारतको पिथौरागढमा बिताए।
२०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि हरिश काठमाडौं पुगे। त्यसको एक वर्षपछि २०४८ साउनमा काठमाडौंको प्रसूति गृहमा पुकारको जन्म भयो। नौ महिनाको हुँदा आमा सुनिताले उनलाई काखमा च्यापेर गोकुलेश्वर फर्काइन्। त्यहाँ न बिजुली थियो, न सडकको सुविधा। झरो र टुकीकै भर । पुकारले गोकुलेश्वरमै कक्षा दुईसम्म पढे। त्यसपछि दाङमा मामाघरबाट कक्षा तीन पूरा गरे।
यसैबीच उनका बुवा हरिश अमेरिका पुगे। पुकार सात वर्षका थिए, उनी आमासँगै न्यूयोर्क पुगे। कहिल्यै ननिदाउने न्यूयोर्क सहर। त्यही सहरमा उनका बुवाले कैयौँ रात अनिदो बिताए। सन्तानको सुखद भविष्यका लागि हरसम्भव प्रयास गरे। रेस्टुरेन्टमा भाँडा माझे। केही समयपछि स्वास्थ्य बिमामा जोडिए । आमाले बाल हेरचाह केन्द्रमा काम गरिन्।
क्वीन्समा बेसमेन्टको बसाइँ। न घामको उज्यालो, न बाहिरको दृश्य। पुकारले त्यही चार वर्ष बिताए । त्यहीबाट पुरा गरे विद्यालय तहको पढाई ।
तर कठिन परिस्थितिले उनको सपना रोक्न सकेन। विद्यालय पढ्दै गर्दा उनी कोलम्बिया विश्वविद्यालयमा अनुसन्धानसम्बन्धी गतिविधिमा जोडिए। पछि स्ट्यानफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरे।
स्ट्यानफोर्डमा अध्ययन गर्दा उनको रुचि प्रविधि र त्यससँग जोडिएका व्यावसायिक सम्भावनातर्फ बढ्दै गयो। सन् २०१६ मा उनले साथीहरूसँग मिलेर टिमेबल नामको कृत्रिम बौद्धिकता (एआई) मा आधारित कम्पनी सुरु गरे। यसले कम्पनीहरूलाई आफ्नै कर्मचारी र सम्पर्क सञ्जालमार्फत योग्य कर्मचारी खोज्न सहयोग गर्थ्यो।
टिमेबलले उनलाई प्रविधि व्यवसाय र लगानीको संसारसँग परिचित गरायो। तर यही कम्पनीसँग जोडिएको एउटा असफलताले उनको जीवनको दिशा बदलिदियो।
कम्पनी एउटा ठूलो व्यावसायिक सम्झौताको नजिक पुगेको थियो। तर सम्भावित ग्राहकले सुरक्षासम्बन्धी दुई सयभन्दा बढी पृष्ठको प्रश्नावली पठायो। त्यसको जवाफ समयमै दिन नसक्दा कम्पनीले पाँच मिलियन अमेरिकी डलर अर्थात् ५० लाख डलरको सम्झौता गुमायो।
यो उनका लागि ठूलो धक्का थियो। तर उनले हार मानेनन्। बरु एउटा प्रश्नको उत्तर खोज्न थाले– कम्पनीले राम्रो उत्पादन र सेवा हुँदाहुँदै पनि सुरक्षा परीक्षणको जटिल प्रक्रियाका कारण ठूलो व्यापारिक अवसर किन गुमाउनुपर्छ?
त्यही प्रश्नको उत्तर खोज्ने क्रममा सेक्युरिटीपालको जन्म भयो।
३० हजार डलरबाट सुरु भएको यात्रा
पुकारले आफ्नै ३० हजार डलर बचत लगानी गरेर सेक्युरिटीपाल स्थापना गरे। दुई वर्षसम्म सान फ्रान्सिस्कोको एउटा अपार्टमेन्टबाट उनले यसको प्रविधि र व्यावसायिक योजना तयार पारे।
सन् २०२२ मा कम्पनी सार्वजनिक रूपमा सञ्चालनमा आएको घोषणा गर्दै उनले २१ मिलियन डलरको सिरिज ए लगानी जुटाएको जानकारी दिए। पुकारका अनुसार एउटा २० मिनेटको टेलिफोन संवादबाटै उक्त लगानीको बाटो खुलेको थियो।
आज सेक्युरिटीपाल विश्वका ठूला प्रविधि तथा व्यावसायिक कम्पनीहरूलाई साइबर सुरक्षा र सुरक्षा प्रमाणीकरणसम्बन्धी सेवा दिने कम्पनीका रूपमा स्थापित भएको छ। कम्पनीले एक हजारभन्दा बढी संस्थासँग काम गरिसकेको छ भने तीन मिलियनभन्दा बढी सुरक्षा प्रश्नहरूको व्यवस्थापन गरेको जनाएको छ।
ओपनएआई, फिग्मा, मङ्गोडिबी, एयरटेबल, स्न्याप, ग्रामर्ली र मन्डे डटकमलगायतका चर्चित कम्पनीहरू सेक्युरिटीपालसँग जोडिएका छन्।
सन् २०२५ जनवरी २९ मा विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले पुकारलाई आफ्नो कभर स्टोरीमा स्थान दियो। नेपाली मूलका व्यक्ति फोर्ब्सको कभरमा समेटिएको यो दुर्लभ उपलब्धि थियो। उनी फोर्ब्स बिजनेस काउन्सिलका सदस्यसमेत छन्।

एआई र मानवीय विशेषज्ञताको संयोजन
सेक्युरिटीपालले गर्ने काम सामान्य साइबर सुरक्षाभन्दा केही फरक छ। कम्पनीले ठूला संस्थासँग व्यापार गर्न चाहने प्रविधि कम्पनीहरूको सुरक्षा प्रणाली, तथ्याङ्क संरक्षण, गोपनीयता र कानुनी मापदण्डसम्बन्धी प्रश्नहरूको जवाफ तयार गर्न सहयोग गर्छ।
कुनै ठूलो कम्पनीले अर्को कम्पनीसँग व्यापार गर्नुअघि उसको तथ्याङ्क कति सुरक्षित छ, कर्मचारीको पहुँच कसरी नियन्त्रण गरिएको छ र साइबर आक्रमण भएमा कसरी प्रतिक्रिया दिइन्छ भन्ने विषयमा विस्तृत जानकारी माग्छ। यस्तो प्रक्रिया पूरा गर्न कहिलेकाहीँ हप्तौँ लाग्न सक्छ।
सेक्युरिटीपालले एआई प्रविधिमार्फत यस्ता प्रश्नहरूको प्रारम्भिक जवाफ तयार गर्छ। त्यसपछि अनुभवी सुरक्षा विज्ञहरूले ती जवाफ जाँचेर अन्तिम रूप दिन्छन्।
पुकार एआईले मानिसलाई विस्थापित गर्नेभन्दा मानिसको कामलाई सहज बनाउने प्रविधि भएको बताउँछन्।
'एआई पूर्ण हुँदैन। त्यसैले हामीले एआईको कामको निगरानी गर्न तालिमप्राप्त विज्ञहरू राखेका छौँ,' उनी भन्छन्।
उनको विश्वासमा प्रविधिको वास्तविक शक्ति एआई र मानवीय विशेषज्ञताको संयोजनमा छ। एआईले छिटो र ठूलो परिमाणमा काम गर्न सक्छ भने मानिसले परिस्थितिको गहिराइ बुझेर सही निर्णय लिन सक्छ।
काठमाडौंलाई ‘सिलिकन पिक्स’ बनाउने सपना
सेक्युरिटीपालको सफलतासँगै पुकारले नेपाललाई पनि आफ्नो प्रविधि यात्रासँग जोड्ने निर्णय गरे।
सन् २०२३ फेब्रुअरी २१ मा काठमाडौंमा कम्पनीको सेक्युरिटी अपरेसन कमान्ड सेन्टर (एसओसीसी) स्थापना गरियो। तत्कालीन अमेरिकी राजदूत डिन आर. थम्पसन र पुकारले संयुक्त रूपमा यसको उद्घाटन गरेका थिए।
सुरुमा करिब १८० कर्मचारी रहेको काठमाडौं कार्यालयमा अहिले २१० भन्दा बढी नेपालीले काम गरिरहेका छन्। उनीहरूले विश्वका ठूला कम्पनीका सुरक्षा तथा प्रविधिसम्बन्धी काममा योगदान पुर्याइरहेका छन्।
तर पुकार काठमाडौंलाई सस्तो श्रम उपलब्ध हुने ठाउँका रूपमा मात्र हेर्न चाहँदैनन्।
'काठमाडौंलाई केवल काम आउटसोर्स गर्ने ठाउँका रूपमा होइन, विश्वका लागि प्रविधि कम्पनी निर्माण गर्न सकिने केन्द्रका रूपमा हेर्नुपर्छ,' उनी भन्छन्।
यही सोचबाट जन्मिएको हो– 'सिलिकन पिक्स'।
अमेरिकाको सिलिकन भ्याली विश्वकै चर्चित प्रविधि केन्द्र हो। टेक्सासको अस्टिनलाई सिलिकन हिल्स, युटालाई सिलिकन स्लोप्स र न्यूयोर्कलाई सिलिकन एलीका नामले चिनिन्छ। पुकार नेपाललाई पनि आफ्नै पहिचानसहितको प्रविधि केन्द्रका रूपमा विकास गर्न चाहन्छन्।
सगरमाथा र हिमालको देश नेपाललाई प्रविधिको उचाइबाट पनि विश्वमा चिनाउने उनको सपना छ।
'सिलिकन भ्याली विश्वका प्रभावशाली प्रविधि कम्पनीहरूको केन्द्र बनेको छ। त्यसको केही अनुभव र सम्भावना नेपालमा पनि ल्याउन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो,' उनी भन्छन्।
नेपालको अर्थतन्त्रमा प्रविधिको सम्भावना
पुकारका अनुसार देशको आर्थिक समृद्धि भूगोल र जनसङ्ख्याले मात्र निर्धारण गर्दैन। सरकारले अवलम्बन गर्ने नीति, प्रविधिमा लगानी र दक्ष जनशक्तिको उपयोगले पनि देशको भविष्य तय गर्छ।
नेपाल र सिंगापुरको उदाहरण दिँदै उनी भन्छन्, 'नेपालको जनसङ्ख्या करिब तीन करोड छ भने सिंगापुरको करिब ६० लाख। तर दुवै देशको अर्थतन्त्र तुलना गर्दा ठूलो अन्तर देखिन्छ। यसको एउटा महत्त्वपूर्ण कारण प्रविधि र डिजिटल अर्थतन्त्रमा गरिएको लगानी पनि हो।'
विश्व बैंकका सन् २०२५ का तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ४५ अर्ब ५० करोड डलर थियो भने सिंगापुरको करिब ६०३ अर्ब ९० करोड डलर। सिंगापुरको डिजिटल अर्थतन्त्रले सन् २०२४ मा कुल गार्हस्थ्य उत्पादनको १८.६ प्रतिशत योगदान गरेको थियो।
नेपालमा पनि सूचना प्रविधि र डिजिटल सेवाको निर्यात बढ्दै गएको छ। तर साइबर सुरक्षा, कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ र सफ्टवेयर सेवाको सम्भावना अझै पर्याप्त उपयोग हुन सकेको छैन।
पुकार नेपालले साइबर सुरक्षालाई आर्थिक विकासको महत्त्वपूर्ण क्षेत्र बनाउन सक्ने सम्भावना देख्छन्।
'नेपालले पनि साइबर सुरक्षाबाट ठूलो आर्थिक मूल्य सिर्जना गर्न सक्छ। अहिले यसको योगदान न्यून भए पनि भविष्यमा यो देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न सक्छ,' उनी भन्छन्।
उनका अनुसार साइबर आक्रमण भएपछि मात्रै प्रतिक्रिया जनाउने होइन, त्यसअघि नै बलियो सुरक्षा प्रणाली निर्माण गर्न आवश्यक छ। नेपालका सरकारी तथा निजी क्षेत्रका डिजिटल प्रणाली र तथ्याङ्क सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्छ।
नेपालको बजार होइन, भविष्यमा लगानी
सेक्युरिटीपालले नेपालबाट आम्दानी गर्दैन। नेपाल कम्पनीको बजार पनि होइन। तर पुकार नेपालमा लगानी गरेर यहाँको प्रविधि र उद्यमशीलताको वातावरण विकास गर्न चाहन्छन्।
'नेपाल हाम्रो बजार होइन। तर हामी नेपालमा लगानी गर्न र यहाँको प्रविधि क्षेत्रलाई बलियो बनाउन चाहन्छौँ,' उनी भन्छन्।
उनको सपना नेपाललाई एसियाकै प्रविधि तथा उद्यमशीलताको केन्द्रका रूपमा स्थापित गर्ने हो।
गोकुलेश्वरमा मट्टीतेलको टुकी बालेर पढेका पुकारले न्यूयोर्कको झ्यालविहीन बेसमेन्टदेखि अमेरिकाको प्रविधि उद्योगको उच्च तहसम्मको यात्रा तय गरेका छन्। जीवनका कठिनाइ, व्यावसायिक असफलता र निरन्तर प्रयासले उनलाई आजको अवस्थामा पुर्याएको छ।
अब उनको सपना आफ्नो सफलतालाई नेपालसँग जोड्ने छ।
'हामी सिलिकन भ्यालीको नक्कल गर्न चाहँदैनौँ। हाम्रो आफ्नै सपना छ। संसारकै अग्लो हिमाल भएको नेपाललाई प्रविधिको उचाइबाट पनि चिनाउन चाहन्छौँ। काठमाडौंलाई सिलिकन पिक्सका रूपमा विकास गर्न चाहन्छौँ,' पुकार भन्छन्।






तपाईको प्रतिक्रिया