महिला क्रिकेटमा सुदूरपश्चिम पनि सेमिफाइनलमा
सुर्खेत - दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको लिग चरणका खेल सकिएका छन् । शुक्रबार गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो ।
सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक जोडेका थिए । तर रनरेटका आधारमा सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाउँदा गण्डकी, मधेश र कोशी प्रतियोगिताबाट बाहिरिएका छन् । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।
शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनाएको थियो । उसका लागि सिमाना केसीले सर्वाधिक ४० रन बनाइन् । ३४ बल सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । सम्झना पौडेलले अविजित ३८ रन जोडिन् ।
ओपनर दीपिका सापकोटा शून्यमा आउट हुँदा श्रेया शाहले १५ रन बनाइन् । रेखा तामाङले ४ तथा चन्द्रमाया बराल र कुसुम गोदारले समान एक रन बनाए । सुदूरपश्चिमकी स्नेहा महराले दुई विकेट लिइन् । अनु कडायत, करिश्मा थापा र यशु पाण्डेले एक–एक विकेट लिए ।
११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले अनु कडायतको आक्रामक ब्याटिङमा जित निकालेको हो । ३३ बल खेलेकी अनुले दुई छक्का र ७ चौकासहित महत्त्वपूर्ण रन जोडिन् ।
मनिषा बोहराले २५, यशु पाण्डेले ११, ऋतु कनौजियाले ८, स्नेहा महराले २ र ममता बोहराले एक रन बनाइन् ।
गण्डकीकी दीपिका सापकोटाले ४ र चन्द्रमाया बरालले एक विकेट लिइन् ।






तपाईको प्रतिक्रिया