इरानबाट थप ७ नेपाली आज फर्किँदै

काठमाडौं । भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा थप ७ नेपाली बुधबार स्वदेश फर्किँदैछन् ।
इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो चार जना र अपराह्न थप ३ जना फर्किन लागेको त्यहाँ रहेका एक नेपालीले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार, दिउँसो दिल्ली हुँदै फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् ।
बाँकी यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल साँझ फर्किने छन् ।
उनीहरू मंगलबार नै फर्किने तयारी भए पनि एक्जिट परमिट नहुँदा रोकिएका थिए । परमिट भएका बुटवलका सुमन गैरे र गणेश पोखरेल चाहिँ मंगलबार नै फर्किएका थिए । उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो ।
भारतीय दूतावासको सहयोगमा उद्धार गरिने भएपछि उनीहरू आफू बसेको स्थानबाट बसमा यात्रा गरेर मसहदस्थित विमानस्थलसम्म आइतबार पुगेका थिए ।
फिर्ता आउन लागेका नेपालीहरू कोही दूतावास त कोही रेष्टुरेन्टमा काम गर्दै आएका थिए । सरकारले इजरायलमा रहेर स्वेदश फर्किन चाहने नेपालीलाई समेत उद्धार गर्ने तयारी गरिरहेको छ ।
शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डययन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा दुवै देशबाट नागरिकलाई उद्धार गर्ने तयारी भइरहेको बताएकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा करिब ५ हजार ५ सय नेपाली नागरिक छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले उच्चस्तरमा आणविक बम बनाउन थालेको भन्दै त्यसविरुद्ध सैनिक कारबाही थालिएको घोषणा गरेका थिए । इरानको कदमले आणविक अप्रसार सन्धि अन्तर्गतको दायित्वको उल्लंघनमा भएको नेतन्याहूको जिकिर छ ।
ओमानमा अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी नयाँ कूटनीतिक वार्ता हुने तय भएका बेला इजरायलले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि इरानको आणविक कार्यक्रम तीव्र गतिमा बढेको थियो ।
पछि मेरिकाले पनि इरानका परमाणु केन्द्रमा आक्रमण गरेको थियो । जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गर्यो । तर, पूर्वजानकारी दिएकाले धेरै क्षति भएन । यसको केही घन्टापछि इजराइल र इरानबीच अमेरिकाको मध्यस्थतामा युद्धविराम सहमति भएको थियो ।
तपाईको प्रतिक्रिया