धनगढीमा राजधानीको गृहकार्य, गोदावरीमा आन्दोलनको तयारी

आइतबार श्रावण १२, २०८२/ Sunday 07-27-25
भानुभक्त आचार्य

कैलाली । कैलाली गोदावरी नगरपालिका वडा नम्बर २ तेघरीका शेरबहादुर विष्टको एक तले घरमाथि २०७५ साल असोज आसपासमा निरीक्षण गर्न आउनेको ताती हुन्थ्यो । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानीको रूपमा गोदावरी नगरपालिका–२ र ४ को वन क्षेत्र तोकेपछि आफ्नै घर अगाडी राजधानी बन्ने भन्दै विष्ट मक्ख थिए ।

सात वर्षपछि अहिले विष्ट निराश छन् । ‘यहाँ ६्७ वर्ष पहिले मान्छेहरू राजधानी बनाउने भन्दै आइरहन्थे मेरो घरमा चढेर राजधानी बन्ने ठाउँ भन्दै हेर्थे ’ उनले भने, ‘अहिले त मान्छे पनि आउन छाडे, राजधानीको विषय पनि हराउँदै गयो ।’ २०७५ माघमै विष्टकै घर अगाडीको ४४४ बिघा क्षेत्रफल राजधानी भोगाधिकारका लागि भन्दै सङ्घीय सरकारलाई पत्राचार गरिइएको थियो ।

तर, सङ्घीय सरकारले भोगाधिकार नदिएको सर्वोच्चमा मुद्दा परेको भन्दै सरकार अहिले गोदावरीमा राजधानी बन्न नसक्ने निष्कर्ष तिर पुगेको छ । ‘यहाँ राजधानी बनाउने भन्दै धेरैले हामीलाई आश्वासन दिए । डोटीबाट आएर कांग्रेस नेता वीरबहादुर बलायर जीले यही नाराले चुनाव जित्नु भयो ।

तर, सांसद भएर गएपछि गोदावरीमा राजधानी बनाउन कुनै मेहनत गर्नु भएन ’ स्थानीय लालबहादुर खड्काले भने, ‘तोकिएको ठाउँमा नबनाएर अझै सार्ने कुरा गर्दै छन्, यो गलत हुन्छ । ’ सुदूरपश्चिम प्रदेश सरकारले राजधानी तोकेको ठाउँ नजिकैको बस्तीलाई स्थानीयले राजधानी टोल भन्दै नामकरण समेत गरेका छन् ।

राजधानी तोकिएको क्षेत्र नजिकैको बाटोलाई स्थानीयले राजधानी मार्ग नाम दिएका छन् । ‘हामीले टोल र सडकलाई राजधानी भन्न थालिसकेका थियौ तर, सरकारले राजधानी बनाउने सुरसार गरेको छैन’ खड्काले भने । उनले राजधानी घोषणा भएपछि एकाएक जग्गाको भाउ आकासिएको तर, अहिले महँगोमा कारोबार भएको जग्गाको भाउ पनि सुस्ताएको सुनाए ।

खड्काले भनेजस्तै स्थानीय इसारा थापाले केही वर्ष पहिले मात्रै यहाँ राजधानी बन्ने भन्दै जग्गा खरिद गरेकी थिइन् । तर, अहिलेसम्म पनि राजधानी निर्माणको सुरसार छैन। ‘राजधानी बन्ने भन्ने सुनेर यहाँ जग्गा किनेको थिए तर, अहिले त हामीलाई बन्दैन कि जस्तो लाग्छ’ उनले भनिन् । राजधानी टोलकै पार्वती खडायत वन क्षेत्रलाई किन राजधानी तोकिएको थियो र अहिले किन निर्माण भइरहेको छैन भन्ने बारे अनविज्ञ छिन् ।

‘यस्तो बन क्षेत्रमा कसरी राजधानी हुन्छ होला जस्तो लागिको थियो । तर अहिले सरकारले घोषणा गरेर पनि किन बनाइरहेको छैन भन्ने लागिरहेको छ’ उनले भनिन् ‘हामीलाई अरूले त ठगेकै थिए , अहिले सरकारले पनि ठग्यो । ’ प्रदेश सरकारले राजधानी तोकेपछि तेघरी टोल र तेघरी मार्गको नाम फेर्दै राजधानी टोल र राजधानी मार्ग बनाइएको थियो ।

तर, सरकारले घोषणा गरेको ठाउँमा राजधानी निर्माण नगरेर आफूलाई अपमानित गरेको राजधानी तोकिएको क्षेत्र वडा नम्बर २ का वडाध्यक्ष यज्ञ बहादुर महरा बताउँछन् । ‘दुई तिहाइले तोकेकै ठाउँमै राजधानी बन्नुपर्छ’ उनले भने ‘हामीले राजधानी बन्ने भन्दै टोल र सडकलाई पनि नाम दियौँ सरकारले हामीलाई अपमानित ग¥यो । ’

अहिले यहाँका राजनैतिक दलदेखि सर्वसाधारण पनि गोदावरीमा राजधानी बनाउन सरकारले गरेको ढिलाइ प्रति असन्तुष्ट छन् राजधानी तोकेको सात वर्षपछि गोदावरीमा स्थायी राजधानी कार्यान्वयन नहुँदा स्थानीय आक्रोशित छन् भने मुख्यमन्त्री कमल बहादुर शाह धनगढी सार्ने योजनामा छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग समेत छलफल गरिसकेका छन् । धनगढीलाई नै स्थायी राजधानी बनाउने तयारीस्वरूप मुख्यमन्त्री कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको करिब १३ बिघा जमिनमा स्थायी संरचना निर्माण गर्ने सरकारको योजना छ । तर, राजधानी फेरबदल गर्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दुई तिहाइ गुमाए । आफैले विश्वासको मत लिने बेला राजधानीको विषय ल्याएर थप विवाद सृजना गर्न खोजेको गोदावारीबासीको आरोप छ । गोदावरीमा आन्दोलनको तयारी राजधानी गोदावरीबाट धनगढी सार्ने तयारी हुँदा गोदावरीमा आन्दोलनको तयारी भइरहेको छ ।

आइतबार गोदावरी नगरपालिका वडा नम्बर – १ स्थित प्रतिभा सामुदायिक पुस्तकालय परिसरमा पहिलो चरणको छलफल सम्पन्न भयो । धन बहादुर बोगटीको संयोजकत्वमा समन्वय समिति बनाइएको छ । उक्त भेलाबाट सङ्घर्ष समिति गठन गरिने जनाइएको छ । सरकारले गोदावरीवासी माथि अन्याय गरे जुनसुकै तहको सङ्घर्षमा जान आफूहरू तयार गरेको उनीहरूले प्रदेश सरकारलाई सन्देश पठाएका छन् ।

स्थानीय युवा अगुवा दीर्घ साउँदले गोदावरीमा स्थायी राजधानी निर्माणको कार्य अगाडि बढाउन नगरवासी जागरूक हुनुपर्ने अवस्था आएको बताए । स्थायी राजधानी गोदावरीमै कार्यान्वयन हुनुपर्ने, भोगाधिकार र रुख कटानको अनुमति नपाइएको बहाना बनाएर सरकार पन्छिन नमिल्ने र आवश्यक परे रुख कटानका लागि नगरवासी नै तयार रहेको उनीहरूको भनाई थियो ।

सोमबार बिहान ८ बजे प्रतिभा सामुदायिक पुस्तकालयमा यस विषयमा उनीहरूले थप छलफल गरेर मूर्तरूप दिने बताएका छन्।