बैद्यनाथ द्यामबाट सुदूरपश्चिम रोयल्सको ‘ट्रफी टुर’ सुरू
अछाम : नेपाल प्रिमियर लिग (एलपीएल) को उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आइ्तबारदेखि ‘ट्रफी टुर’ सुरू गरेको छ । नेपालको चार धाममध्येको एक द्याम वैजनाथ धामबाट ‘ट्रफी टुर’ को सुरुवात गरिएको हो । मन्दिरमा बाजागाजा,पूजा अर्चनासहित साँफेबजारमा र्याली गरिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आईतवारबाट सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा भव्य ‘ट्रफी टुर’ गर्ने भएको हो ।
नेपाली घरेलु क्रिकेटको सर्वाधिक प्रतिष्ठित फ्रेन्चाइज लिगको उपाधि जितेपछि समर्थकहरूसँग प्रत्यक्ष खुसी साट्न मंसिर १३ देखि २० गतेसम्म साताव्यापी ट्रफी भ्रमण आयोजना गरिएको हो।
बैद्यनाथ धाममा आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमट्टाले खेलमा लगानी गर्न आग्रह गरे । उनले प्रत्येक वडा वा टोलमा स–साना भएपनि खेल मैदान निमार्ण गर्न र खेल क्षेत्रलाई प्राथमिकता दिन जनप्रतिनिधिहरुलाई अनुरोध गरे । प्रशिक्षक टमट्टाले क्रिकेटमा युवाहरुको साना बालबालिकाहरुको समेत आकर्षण बढेकोले खेल र खेलाडीमा लगानी गर्न सुझाब दिए ।
सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वतन्त्रप्रताप शाहले माया र जितको खुशी साट्नको लागि पवित्र भूमि बैद्यनाथ द्यामबाट ट्रफी टुर सुरुवात गरिएको बताए । उनले यसो गर्दा अगामी दिनहरूमा नयाँ खेलाडीहरू र खेलप्रमीलाई थप हौसला मिल्ने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भरतकुमार स्वार,साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर,प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले खेलप्रमीहरुमा यो ट्रफी टुर कार्यक्रमले उत्साह जगाएको बताए । खेलमैदानमा साट्न नसकेको खुशी यहाँ बाड्न पाउदा निकै हर्ष लागेको बताए ।
मंसिर ५ गते काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई दश विकेटको फराकिलो अन्तरले पराजित गर्दे सुदूरपश्चिम रोयल्सले पहिलो पटक एनपीएलको उपाधि उचालेको छ ।
अघिल्लो दुई संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा ईतिहास रचेको छ । एनपीएलको सिजन चलिरहँदा सुदूरपश्चिम रोयल्सका टिम मालिक स्वतन्त्रप्रताप शाहले टोलीले उपाधि जितेमा ट्रफीलाई सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पुर्याउने घोषणा गरेका थिए । सोही प्रतिबद्धता अनुरूप व्यवस्थापनले पहाडी जिल्ला अछामबाट भ्रमण सुरु गरी तराईको कैलालीमा आएर समापन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
ट्रफी टुरलाई धार्मिक,सांस्कृतिक तथा मुख्य व्यापारिक केन्द्रहरूसँग जोडेर भव्य उत्सवका रूपमा मनाइँदैछ । ट्रफी टुर बाजुरा,डोटी,डडेल्धुरा,बैतडी,दार्चुला,बझाङ्ग र कञ्चनपुर हुदै मंसिर २० गते कैलालीको धनगढीमा भव्य समापन समारोह आयोजना हुनेछ ।





तपाईको प्रतिक्रिया