Close This

दशौं राष्ट्रिय खेलकुद: सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश

आइतबार मङ्सिर १४, २०८३/ Sunday 11-29-26
Paschim Today

सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।


टस जितेर ब्याटिङको निम्तो दिएको आर्मीले सुदूरलाई ६९ रनमै रोक्न सफल भयो। जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

सुदूरका लागि ऋतु अनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन्। ओपनर अनु कडायत सात, अनिषा बोहरा दुई, रविना बोहोरा चार, हिसिला खड्काले तीन रन बनाए।

सुदूरका स्नेहा महरा, रविना साउँद, ममता चन्द र सविना नेगीले शून्यमै आउट भए। सुदूरले ६९ रन बनाउँदा २० रन अतिरिक्त प्राप्त गरेको थियो।

सुदूरलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी लक्ष्मी साउँदले महत्वपूर्ण चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन्।

यस्तै आर्मीकी इश्वरी विष्टले तीन ओभर बलिङ गर्दै १६ रन खर्चिएर दुई विकेट हात पारिन्। मनिषा उपाध्यायले चार ओभर बलिङ गर्दै दुई ओभर मेडन राख्दै छ रन खर्चिएर एक विकेट हात पारिन्। आर्मीकी संगीता गुरुङको नाममा एक विकेट रह्यो।

७० रनको लक्ष्य पछ्याएको आर्मीले १० ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीकी कविता कुँवरले नटआउट २० रन र लक्ष्मी साउँदले नटआउट १८ रनको पारी खेलिन्। 

कविताले २० रन बनाउन १७ बलको सामना गरेकी थिइन् उनले दुई छक्का प्रहार गरिन्। लक्ष्मीले ११ बलमा तीन चौकाको मद्दतमा १८ रनको नटआउट पारी खेलिन्।ओपनर सम्झना खड्काले १६, रुवि पोद्दार १३ र विन्दू रावलले एक रन बनाइन्।

विन्दू र रुवि रनआउट भएका थिए भने सुदूरकी अनु कडायतले एक आर्मीको एक विकेट लिइन्।

सुदूरका महत्वपूर्ण चार विकेट र टीमका लागि १८ रनको नटआउट पारी खेलेकी आर्मीकी लक्ष्मी साउँद प्लेयर अफ द म्याच भइन्।