'खलो' प्रथाबाट व्यावसायिक बन्यो आरन
डडेल्धुरा- डेढ दशकअघिसम्म पनि डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा आरन पेसा 'खलो' प्रथामा आधारित थियो। हँसिया, बन्चरो, कुटो, कोदालोलगायत कृषि औजार बनाउने र धार लगाउने काम गरेबापत आरन व्यवसायीले नगदभन्दा अन्न लिने चलन थियो। गाउँघरमा प्रचलित यो परम्परा अहिले क्रमशः व्यावसायिक बन्दै गएको छ। गाउँमा सीमित आरन पेसा बजार क्षेत्रमा समेत विस्तार हुन थालेको छ।
अहिले आरनमा कृषि औजार बनाउने र धार लगाउने कामको नगद मूल्य निर्धारण हुन थालेको छ। एउटा औजारमा धार लगाएबापत ५० देखि १ सय ५० रुपैयाँसम्म लिने गरिएको छ। परम्परागत रूपमा अन्न लिएर काम गर्ने चलन नगद कारोबारमा रूपान्तरण हुँदै जाँदा आरन पेसाले व्यावसायिक स्वरूप लिन थालेको हो।
डडेल्धुरा सदरमुकाम अमरगढी नजिकैको तुफानडाँडा बजारमा महादेव टमटाले आरन सञ्चालन गर्दै आएका छन्। उनी पुर्ख्याैली आरन पेसा अँगालेको परिवारका सदस्य हुन्। घरायसी प्रयोजनका कृषि औजार बनाउनेदेखि तिनमा धार लगाउनेसम्मको सीप उनले बुबा र बाजेबाट सिकेका हुन्। तर, परम्परागत सीपमा मात्र सीमित नभई उनले यसलाई आधुनिक प्रविधिसँग जोडेर व्यवसाय विस्तार गरेका छन्।
घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम र आवश्यक औजार सहयोग पाएपछि उनले आरनलाई आधुनिक स्वरूप दिएका हुन्। अहिले उनी कृषि औजार निर्माण र मर्मतसँगै मूर्ति, दियो, कलशलगायत सामग्रीसमेत बनाउँछन्। परम्परागत सीपलाई नयाँ प्रविधि र बजारको मागअनुसार प्रयोग गर्न सके आरन पेसाबाट आम्दानी गर्न सकिने उनको अनुभव छ।
अजयमेरुका नारायण टमटा पनि पुर्ख्याैली सीपलाई व्यावसायिक बनाउने प्रयासमा छन्। हँसिया, बन्चरो, खुकुरीलगायत घरेलु हतियारदेखि देवीदेवताका मूर्तिसम्म बनाउने सीप उनीसँग छ। परम्परागत औजार प्रयोग गर्दै आएका उनले पछिल्लो समय आधुनिक उपकरण पनि चलाउन थालेका छन्। तर, बजारमा बाहिरबाट उत्पादित सामग्री आउने क्रम बढ्दा स्थानीय आरन व्यवसाय प्रभावित भइरहेको उनको भनाइ छ।
अमरगढी नगरपालिका–३ का जोगराज कामी पनि आरन पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सामूहिक प्रयास आवश्यक रहेको बताउँछन्। पुर्ख्याैली सीप र श्रममा आधारित यो पेसामा नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा संकटमा पर्न थालेको छ। गाउँघरमा परम्परागत आरन विस्थापित हुँदै गएका छन् भने कतिपयले वैकल्पिक पेसा रोज्न थालेका छन्। यस्तो अवस्थामा आरन पेसाको संरक्षण र व्यावसायिक विकासका लागि तालिम तथा सहयोगका कार्यक्रम सञ्चालन हुन थालेका छन्।
घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका उद्यम विकास सहजकर्ता किशोर कैनीका अनुसार विगतमा ‘भगत सर्वजित कार्यक्रम’ अन्तर्गत लक्षित समुदायका व्यक्तिलाई व्यावसायिक आरनसम्बन्धी तालिम प्रदान गरिएको थियो। नयाँ पुस्तामा परम्परागत आरन पेसाप्रतिको आकर्षण घट्दै गएको अवस्थामा सीप हस्तान्तरण र आधुनिक उपकरणको प्रयोगमार्फत यसलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
नयाँ पुस्तालाई यसमा आकर्षित गर्न सीप हस्तान्तरणसँगै आधुनिक उपकरण, उत्पादनको बजारीकरण र व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने आरन व्यवसायीहरू बताउँछन्।





तपाईको प्रतिक्रिया