Close This

कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको मिति तोकियो

आइतबार मङ्सिर १४, २०८३/ Sunday 11-29-26
Paschim Today

काठमाडौँ। नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका टुंगो लगाएको छ ।

पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो। बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुने कांग्रेसले जनाएको छ। यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने बताइएको छ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गते सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ। सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक-दुई दिनको फरक पारेर गरिने स्पष्ट पारेका छन्।

सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राखिएको कांग्रेसले जनायो । यही सूचीअनुसारको तालिका निर्वाचन समितिले सोमबार सार्वजनिक गर्नेछ।